विदेश

भारतले गरेको चिनियाँ एपमाथिको प्रतिबन्धको निर्णय अमेरिकाद्वारा स्वागत, अमेरिकाद्वारा पनि प्रतिबन्धको तयारी

भारतले गरेको चिनियाँ एपमाथिको प्रतिबन्धको निर्णय अमेरिकाद्वारा स्वागत, अमेरिकाद्वारा पनि प्रतिबन्धको तयारी

वाशिङ्टन । भारतले चिनियाँ एपमाथि लगाएको प्रतिबन्धको निर्णय अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले पनि टिकटकलगायतका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको जनाइएको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले  फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यस विषयलाई गम्भीररुपमा लिएको बताएका छन् । उनले भने, "चिनियाँ एप्सप्रति सम्मानका साथ म तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि अमेरिकाले यस विषयमा सोचिरहेको छ ।" 

टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाउँदै आएका छन् । प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुनसक्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम आउने उनीहरुको भनाई छ ।

वाशिङ्टका एक उच्च कुटनीतिज्ञले यदि तपाईंको व्यक्तिगत सूचना चिनियाँ कम्युनिस्ट पार्टीको हातमा जाओस् भन्‍ने चाहनु हुन्छ भने मात्रै चिनियाँ एप डाउनलोड गर्न सक्ने बताएका छन् । 

पोम्पिओको अभिव्यक्तिपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "टिकटकको सीईओ अमेरिकन हुनुहुन्छ र अन्य थुप्रै सुरक्षा, उत्पादन, पब्लिक पोलिसीलगायतका क्षेत्रमा सयौं अमेरिकीहरु मुख्य भूमिकामा हुनुहुन्छ । हाम्रो प्रयोगकर्ताको सुरक्षा नै हाम्रो उच्च प्राथमिकतामा छ । हामीले चीन सरकारलाई टिकटकको डाटा कुनै पनि हालतमा उपलब्ध गराउँदैनौं ।" 

गत साता भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्लिकेशनमा प्रतिबन्ध लगाएको थियो । सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतले प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा पनि कोरोना भाइरसको संक्रमणका कारण दरार पैदा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको निष्पक्ष छानबिनको माग गर्दै संक्रमण फैलाउन चीन सहयोगी भएको आरोप लगाइरहेका छन् । 

ADVERTISEMENT