अपराध सुरक्षा

१८ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका ३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो ।

राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा ३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।

निकैबेर राति घरबाट हराइरहेकी किशोरीलाई खोजी गर्ने क्रममा राति २ बजे स्थानीय बासिन्दाले राइनले खुल्ला चउरबाट किशोरीलाई घर पु–याउन आउँदै गरेको अवस्थामा फेला पारेका थिए । स्थानीय बासिन्दा आउँदै गरेको देखेर किशोरीले रुदै चिच्याएर घटना सुनाएपछि केटालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा कलाम राइनलाई पक्राउ गरिएको बताउनुभयो । बलात्कृत किशोरी र आरोपित दुबै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा आज स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस