रोजगार

विदेशबाट फर्किएर तीन स्थानमा आधुनिक शैलुन

विदेशबाट फर्किएर तीन स्थानमा आधुनिक शैलुन

नारायण अधिकारी

चितवन। सात वर्षअघि कतारबाट फर्किएर स्वदेशमा नै रोजगारी सिर्जना गर्न तम्सिएका एक युवकले तीन ठाउँमा आधुनिक शैलुन सञ्चालन गर्नुभएको छ । उहाँले शैलुन सञ्चालन गर्न मासिक रु एक लाख ७० हजार भाडा तिनुहुन्छ भने १४ जनालाई रोजगारीको अवसर मिलेको छ । भरतपुर महानगरपालिका २१ पार्वतीपुरका सुलभ सिग्देलले दुई वर्ष कतारमा बसेर फर्किएपछि शैलुनसम्बन्धी तालीम लिएर स्वदेशमा नै पेशा शुरु गर्नुभएको हो । विसं २०७१ साउन ६ गते पहिलो सामान्य शैलुनबाट पेशा थाल्नुभएका उहाँले त्यसको पाँच वर्षपछि नजिकै रु ५० हजार भाडा तिर्ने गरी शैलुन विस्तार गर्नुभयो । शुरुमा उहाँले मासिक रु १५ हजार भाडा तिर्ने गरी शैलुन शुरु गर्नुभएको थियो जहाँ रु २० लाख लगानी गरेको उहाँ बताउनुहुन्छ ।

गत वर्षको साउन ६ गते नै सिजी मलमा मासिक रु एक लाख भाडा तिर्ने गरी कोठा लिएर रु ३० लाख खर्च गरेर सिग्देलले दोस्रो शैलुन शुरु गर्नुभयो । यस वर्ष साउन ६ गते अर्को शैलुन दूरसञ्चार रोडमा विधिवत सञ्चालनमा आउँदै छ । जहाँ मासिक रु २० हजार भाडा तिर्नुपर्ने उहाँको भनाइ छ । तीनवटै शैलुनमा १४ जनाले रोजगारी पाउने छन् । अधिकांशले आफ्नै शैलुनमा काम सिकेका हुन् ।

पपुलर युनिसेक्स शैलुनका नामबाट खोलिएको शैलुनमा तालीम पनि दिइँदै आएको छ । हालसम्म ४०० भन्दा बढीले तालीम लिई सकेका छन्, उहाँले भन्नुभयो । तीमध्ये १४ जनाले यसै क्षेत्रमा आफैँले शैलुन चलाउँदै आएको सिग्देल बताउनुहुन्छ । श्रीमती सुस्मिता र आफूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीबाट तालीम लिएर हाल महिला र पुरुष दुवैको कपाल काट्नेदेखि विवाहमा सजाउनेसम्मको काम गर्दै आएको उहाँको भनाइ छ ।

सिग्देलसँगै तालीम लिएर माडीको वसन्तपुर बजारमा शैलुन चलाउँदै आउनुभएका विष्णु मगर मेहनत गयो भने स्वदेशमा नै काम गर्न सकिन्छ भन्नुहुन्छ ।दैनिक २० जना हाराहारी ग्राहक आउँछन्, आफ्नै देशमा पेशा गर्न म सुझाव दिन्छ, उहाँले भन्नुभयो । गीतानगरको चोक बजारमा शैलुन चलाउँदै आउनुभएका किशोर थापामगरले पनि सिग्देलसँगै तालीम लिनुभएको हो । उहाँ तीन वर्ष दुबई बसेर नेपाल फर्कनुभएको हो । विदेशको भन्दा यहाँ बढी कमाइ हुने गरेको उहाँले बताउनुभयो । मेहनत गयो भने यही आम्दानी गर्न सकिन्छ, उहाँले भन्नुभयो । उहाँले शुरु शुरुमा रु २० हजार लिएर ६ महिनासम्म तालीम दिने गर्नुहुन्थ्यो । अहिले रु ५० हजार लिएर ६ महिनाको सबै जान्ने गरी तालीम दिने गर्नुभएको छ ।

स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकिन्छ भन्ने उदाहारण सिग्देलसँगै यही सीप सिकेर व्यवसाय गरेकाले देखाएका छन् । लकडाउनसँगै स्थानीयप्रतिनै विश्वास बढेर गएको देखिन्छ । नेपालीले खोलेका शैलुनमा पनि केटाकेटीको विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले रु ५० को थ्रेडिङदेखि रु ४० हजार लिएर दुलाहा दुलही श्रृङगार गर्नेसम्मका काम गर्दै आएका छन् ।(रासस)

ADVERTISEMENT