कभर स्टोरी भिडियो

कलियुगका जिउँदो भगवान दयारामको कथा (भिडियोसहित)

कलियुगका जिउँदो भगवान दयारामको कथा (भिडियोसहित)

दृष्टिविहीनलाई ब्रेललिपीबाट पढाएपछि विशेष भत्ता लिइनेछ भनिएको थियो । पछि दिइएन । अरु शिक्षकले जीबनलाई पढाउन छाडिदिए । उनले भने निरन्तर पढाइरहे । शारिरीकरुपमा विशेष प्रकृतिका व्यक्तिप्रतिको मोह यसबाट झनै झाङ्गियो । उनलाई राम्रैसंग अनुभुति छः कायाले सधैं साथ दिने छैन । कालले छाड्ने छैन । भोलि कोही शरण लिन आएमा सक्दिन भन्न नपरोस् । आफु मरेपनि आफुले थालेको सेवा अमर रहोस् । त्यसैले उनले आश्रित बालबालिकालाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् ।

०४६ सालको राजनीतिक राप र ताप । २५/२६ बर्षको उमेर । उमेर र अवश्था दुबै राजनीतिका लागि उर्बर थियो । तर उनले नामजस्तै दया र करुणाको पथ पछ्याए । गुमनामजस्तै अनवरत सेवा गरे । ३० बर्षको अन्तरालमा उनी धेरैको नजरमा भगवान दरिए । उमेरले ५० टेकेका ललितपुर बुङ्गमतीका दयाराम महर्जन शारीरिकरुपमा अशक्त कैयौंका लागि जीबनको टेको बनेका छन् । दयाराम महर्जनको जीबनमा संयोगले निर्णायक भुमिका खेलेको छ । ललितपुर जिल्लास्थित बुङ्गमतीको आर्दष सौलः युवक उच्च माध्यामिक विद्यालयमा उनले अक्षर आरम्भ गरे । विद्यालयमा आठपति नायके राई शिक्षक थिए । उनका दुबै हत्केला थिएनन् । ठुटो हात नै सही, राई सरले साह्ै राम्रा अक्षर लेख्थे ।

हात हुने सरहरुको भन्दा गज्जबका अक्षर, शारीरिकरुपमा असक्त भएपनि सशक्त राई सरले दयारामको मनमा भिन्दै छाप छाडे । उनको जागिरे जीबन मुखियाको रुपमा शुरु भयो । केही समयपछि उनलाई सो जागिर निरश लाग्यो । उनले आफैंले पढेको विद्यालयमा शिक्षकका लागि आवेदन थिए । २०४३ सालमा उनी माष्टर भए । त्यसको तीन बर्षपछि उनको जीबनमा निर्णायक घुम्ति आइपुग्यो । विद्यालयमा भर्ना भए जीबन डङ्गोल । दृष्टिविहीन डङ्गोललाई पढाउनका लागि शिक्षकले पनि ब्रेल लिपी सिक्नुपर्ने भयो । दयारामसहित केही शिक्षकले ब्रेललिपी सिके । दृष्टिविहीनलाई ब्रेललिपीबाट पढाएपछि विशेष भत्ता लिइनेछ भनिएको थियो । पछि दिइएन । अरु शिक्षकले जीबनलाई पढाउन छाडिदिए । उनले भने निरन्तर पढाइरहे । शारिरीकरुपमा विशेष प्रकृतिका व्यक्तिप्रतिको मोह यसबाट झनै झाङ्गियो ।

 २०५० सालमा छम्पी गाविसबाट ३ जना सुस्त श्रवण भएका बालबालिका विद्यालयमा भर्ना हुन आए । दृष्टिविहीनलाई त उनी पढाउन सक्थे । कान नसुन्नेलाई कसरी पढाउने ? उनले राष्टिय अपाङ्ग महासंघसंग हारगुहार गरे । सांकेतिक भाषाको तालिम लिए । सांकेतिक भाषाको तालिम लिंदालिंदै उनको दिमागमा अनेक कुरा खेल्न थाले । अब असक्तहरुको सेवाका लागि सशक्त संस्था बनाउने । यही सोचले जन्मायो ः अपाङ्ग सेवा संघ । संस्था त बनाउने । तर, स्थापना गर्ने कहां ? संचालन गर्ने कसरी ? थेग्ने कसरी ?

आदिइत्यादि कुरा मनमा खेलिरहन्थे । उनी यताउता भौतारिरहन्थे । यसैक्रममा उनी एकदिन बडीखेल पुगेका थिए । बडीखेलमा बडो संयोग जुर्यो। एउटा बालक बाटोमा घस्रदै हिडिरेको थियो । ५÷६ बर्षको सो बालक हिड्न सक्दैनथ्यो । दयारामले उसलाई पछ्याइरहे । बालक घरभित्र पस्यो । जहां भेट्टिइन् अनिलकी आमा । आचार्य परिवार गरिवी र दुःखको दलदलमा फसेको रहेछ । उनले अनिलकी आमासंग आफ्नो इतिवृत्तान्त कहे । अनिललाई आफुले पाल्ने प्रस्ताव गरे । केही दिनको भलाकुसारीपछि अनिललाई दयारामको जिम्मा लगाउन आमा तयार भइन् ।  अनिललाई त ल्याइयो ? राख्ने कहां ? छिस्स केही भइहाले संस्था स्थापना गर्ने र जीबन नै समाजसेवामा सर्मर्पित गर्ने सपना तुहिने निश्चित थियो । उनले कार्यबिनायक मन्दिर व्यवश्थापन समितिसंग ठाऊं उपलब्ध गराउनका लागि अनुरोध गरे । मन्दिर वरपरको बन संरक्षण गरिदिने सर्तमा समितिले उनलाई मन्दिरको पार्टी दिने भयो । अनिलको भविश्यका लागि उनले पाटीको बास रोजे । बनपालेको कामपनि संगै थाले । मास्टरी त छंदै थियो । अनिलको समस्या हिड्न नसक्नु थियो । उनले यसअघि सिकेको ब्रेललिपी र सांकेतिक भाषाले अनिललाई काम गर्दैनथ्यो । उसलाई शारीरिक अभ्यासको खांचो थियो । उनले लिए फिजिओ थेरापी तालिम । अनिल हिड्न सक्दैनथे । दिशापीशाव धेरै बेर रोक्न सक्दैनथे । कहिलेकाहीं कक्षाकोठामै छोडिदिन्थे । शिक्षकशिक्षिका र पिएनपनि तर्कन्थे । जसको जजमान, उसैले जानोस् भनेर छेड हान्थे । दयाराम कुदेर जान्थे र गुंमुत सोर्थे । आचार्य बाहुन भएकाले अनिललाई दयारामको जजमान भनिन्थ्यो व्यङ्ग्यात्मकरुपमा । अनिलको भरणपोषण थालेपछि दयारामको संस्थागत यात्रा शुरु भयो ।

विद्यालय र आफ्नो सम्र्पकमा आएका सुस्त श्रवण भएका र दृष्टिविहीन बालबालिकालाई उनले पाटीमा राख्न थाले । उनका बारेमा वरपरका क्षेत्रमा समेत बहश हुन थाल्यो । कतिले उनलाई धर्मकर्म गरेको भनेर प्रसंशा गर्थे । कतिले घर न घाटको सन्काहा भनेर टिप्पणी गर्थे । उनका बारेमा हुने जस्तै टिप्पणीलेपनि उनलाई राम्रै ग¥यो । राम्रो नराम्रो जे होस्, उनका बारेमा मानिसहरुले रुची राखे । विस्तारै सहयोगपनि आउन थाल्यो । यसरी सुरु भएको अपाङ्ग सेवा संघ अहिले मुलुककै प्रतिष्ठित सेवामुलक गैरसरकारी संस्थामा गनिने ठाऊंमा पुगेको छ । स्वदेशी विदेशी दाताको सहयोगमा सुविधासम्पन्न बालआश्रम बनेको छ । आश्रममा अहिले २२ जना दृष्टीबिहीन र २२ जना कान नसुन्ने बालबालिकाले आश्रय लिइरहेका छन् । मस्तिष्कघात र अन्य प्रकारले अशक्त भएका गरी ५४ जना बालबालिका उनको आश्रयमा छन् । उनलाई यि सबैले बा भनेर बोलाउंछन् । उनलाई अहिले सबैभन्दा पिरलो छ २ बालकको । जो आंखापनि देख्दैनन् । कानपनि सुन्दैनन् । उनले आंखा नदेख्नेलाई ब्रेलबाट पढाउंन सक्छन् । कान नसुन्नेलाई सांकेतिक भाषाको माध्यमबाट पढाउन सक्छन् । तर, श्रवणशक्ति र दृष्टि दुबै नभएका यि दुईलाई कसरी पढाउने ? उनले उपाए खोजिरहेका छन् । कति ठाऊंमा बुझे । कति ठाऊंमा धाए । जानेबुझेकालाई झक्झकाए । तरपनि पार लागेको छैन ।

आफैसंगका गुनासो

 फुर्सद निकालेर जब उनी बुबाआमा भए ठांऊ पुग्छन् उनलाई चसक्क हुन्छ । आफ्ना छोराछोरी बाउआमाको जिम्मा लगाएका छन् । श्रीमतीलाई समय दिन पाएका छैनन् । अनाथहरुको सेवा गर्दा कतै आफ्नै छोराछोरी अनाथ भएकी भन्ने लाग्छ । समयक्रममा उनीहरुले बाको व्यथा बुझ्नेछन् । उनी मन बुझाउंछन् । दयारामको डर सेवाकर्ममा बेदागी रहन चाहन्छन् दयाराम । संस्थाका लागि घर घडेरी जुटिसकेको छ । सहयोगीपनि आइरहन्छन् । संस्थाको भारपनि बढ्दो छ । सहयोग दिनहुं चाहिन्छ । कसैले यहीं देखेर आफुलाई औंला ठड्याउने हुन् की ? मन झसङ्ग हुन्छ । काम गर्ने भन्दा कुरा काट्नेको बहुमत छ समाजमा । यसको शिकार हुन नपरोस् । उनी प्रथाना गर्दछन् । उनलाई राम्रैसंग अनुभुति छः कायाले सधैं साथ दिने छैन । कालले छाड्ने छैन । भोलि कोही शरण लिन आएमा सक्दिन भन्न नपरोस् । आफु मरेपनि आफुले थालेको सेवा अमर रहोस् । त्यसैले उनले आश्रित बालबालिकालाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् । उनीहरुलाई नैतिक शिक्षा र विभिन्न तालिम दिइरहेका छन् । आफ्ना छोराछोरीलाईपनि आफुजस्तै सेवामार्गमा हिडाउन चाहन्छन् उनी । कहिलेकाहीं त भोलिका बारेमा सोच्दासोच्दै आंखा रसाउछन् । आश्रित बालबालिकाको जोश र सृजना देखेपछि भविश्यप्रति उनी उत्साहित हुन्छन् । अलपत्र छाडिएको माइन विस्पोटमा परी दुबै आंखा गुमाएका र हाल संघमा आश्रय लिइरहेका मकवानपुरका सुनिल लामाले बनाएका काष्ठकला देखाउंदै गर्दा उनमा भिन्दै उत्साह देखिन्थ्यो । काभ्रेको खोपासीमा बस्थे लामा । त्यहीं २०६१ पुस ५ गते उनको दुर्घटना भएको थियो

। कलात्मक अपांग सेवा संघ संघको नया भवन भित्र पस्दैगर्दा बेग्लै ससांरको यात्रा शुरु भएजस्तो लाग्छ । शारीरिकरुपमा असक्त बालबालिकाले कोरेका पेन्टिङ चारैतिर टांगिएका छन् । आंखै लोभ्याउने ति तस्विरले जीबनका भिन्न पक्षलाई उजागर गर्दछन् । सिंढीको दायांबायां देशविदेशका शारीरिकरुपमा अशक्त तर प्रेरणादायी व्यक्तिहरुको जीबनी राखिएको छ । फरक क्षमताका कारण फरक परिचय बनाएका त्यस्ता व्यक्तिको जीबनीले जोकोहीलाई जीबनप्रति आशावादी बनाउंछ । दृष्टिविहीनका लागि जीबनी ब्रेललिपीमा राखिएको छ । अरुहरुका लागि रोमन लिपी छंदैछ । संघको कार्यालयमा आश्रितहरुको भावनात्मक एकता शब्दमा संचय गर्न नसकिने खालको छ । कालिकोटका दयाराज बिक पक्षघातबाट पीडित थिए । अहिले उनको अवश्था सामान्य छ । तर, उनलाई घर फर्कन मन छैन । घर फर्कदा संघका साथीसंगी र दयाराम बा छुट्छन् । उनले कम्पुटर सिकेर अरुलाई सिकाउने र संघमै बस्ने निधो गरेका छन् । के गदैछन् जीबन र अनिल ?

जीबन र अनिललाई नभेटेको भए दयारामको कर्म के हुथ्यो ? दयाराम आफैपनि यसै भन्न सक्दैनन् । दृष्टिविहीन जीबन विद्यालयमा पढ्न आएपछि दयारामले पढाउनकै लागि ब्रेललिपी सिके । शारीरिकरुपमा असक्त अनिलसंग अनायशै भेट भएपछि उनले फिजिओ थेरापी तालिम लिए । यि दुबै पात्रले दयारामलाई समाजसेवी बन्ने बातावरण बनाइदिए । जीबनको जीबन फेरिसकेको छ । गुरु दयारामजस्तै जीबनपनि आफुले अध्ययन गरेको सौलः युवक उच्च माध्यामिक विद्यालयमा पढाउछन् । उनी ब्रेल शिक्षक हुन् । उनका लागि दयाराम गुरुमात्रै रहेनन् । नयां जीबनदाता देउतै हुन् । १८ बर्ष अघि बाटोमा घस्रीरहेको अनिललाई भेटेका थिए दयारामले । उनकै दयाले अनिलको जीबन दहे भएको छ । उनी ठमठम हिड्न सक्छन् । उनको एउटा वांया हात राम्ररी चल्दैन । दाया हातको भरमा कम्प्यूटर सिक्दैछन् । युवा वयका अनिल दयारामलाई छोडेर जाने कल्पनापनि गर्न सक्दैनन् । दयाराम बाले जसरी आफ्नो जीबन बदलिदिए त्यसैगरी अरुको जीबन बदल्न आफु लागिपर्ने उनको ईच्छा छ ।

दत्तचित्त दयाराम दयारामसंग व्यक्तिगत सुखसयलका प्रशस्त बाटा थिए । अवसरैअवसरको चौबाटो मा अभिएका दयाराम सेवामार्गतर्फ मोडिए । सेवाबाट नै परमसुख पाइन्छ भन्ने दिब्यदृष्टिबाट उनी कहिल्यै विचलित भएनन् । जस्तै अफ्ठयारा परिश्थितिमा पनि दयाराम अडिक भइ अघि बढीरहे । सेवाका लागि बनपाले हुन राजी भए । प्रारम्भका दिन सम्झदा उनलाई आफैंले सो यात्रा गरेको हो र ? जस्तो लाग्छ । आखिर जीबन जिउने कला रहेछ । उनको जीबन कतिका लागि आंखा बनेको छ । कतिका लागि कान । कतिका लागि खुट्टा । अरुका लागि हिडेंका दयारामले अहिले प्रसिद्धि बटुलेका छन् । दयारामले प्रसिद्ध हुनका लागि सेवा गरेका होइनन् । प्रसिद्धिभन्दा माथि छ सिद्धि । स्थानिय सागे शेर्पाका नजरमा दयाराम प्रथाना नगरीकनै भेट्न पाइने भगवान हुन् ।