समाचार

अन्तरजातीय विवाहपछि कमाण्डरले भने -‘यिनीहरुको त जन्ती होइन, मलामी जानुपर्ने'

अन्तरजातीय विवाहपछि कमाण्डरले भने -‘यिनीहरुको त जन्ती होइन, मलामी जानुपर्ने'

२०६१ सालको मंसिर महिना । जनयुद्ध चरम उत्कर्षमा थियो । त्यहीबेला रुकुमको लावाङमा माओवादीका उच्च तहका नेताहरु सम्मिलित एउटा विवाह कार्यक्रम हुँदै थियो । बेहुली थिइन्, रेडियो जनगणतन्त्र विशेष क्षेत्रकी प्रस्तोता अर्घाखाँचीकी अस्मीता खड्का, जो रेडियोमा अरुणा रायमाझीको नामबाट चर्चित थिइन् । बेहुला थिए, रेडियो जनगणतन्त्र विशेष क्षेत्रका प्राविधिक दाङका राजेश थारु । विवाह खड्का र थारुको भएपनि समाजका लागि यो अन्तरजातीय विवाह नै थियो । तर यो विवाहपछि अस्मीता र राजेशले अन्तरजातीय विभेदभन्दा बढी राजनीतिक विभेद खेपे ।

विवाहमा तत्कालिन माओवादीका पश्चिमाञ्चल इन्चार्ज पोष्टबहादुर बोगटी लगायतका उच्च तहका नेताहरु उपस्थीत थिए । विशेष क्षेत्रका इन्चार्ज नेत्रबिक्रम चन्द 'विप्लव' देखि सहइन्चार्ज पम्फा भुसालसम्म थिए विवाहमा । उनीहरुमध्ये अधिकांश मन्त्रीदेखि विभिन्न पदमा पुगिसके, कोही अहिले पनि विभिन्न पदमा र नियुक्ति लिएर बसेका छन् । सबैले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विवाहित जोडीलाई शुभकामना दिए । तर जब अस्मीता विवाह सकेर हलबाहिर निस्किदै थिइन्, त्यतीबेला हलबाहिर रहेका जनमुक्ति सेनाका केही कमाण्डरहरु भन्दै थिए – ‘यिनीहरुको त जन्ती होइन मलामी जानुपर्ने थियो ।’

त्यसको केहीदिन अगाडि त्यही लावाङमा सम्पन्न माओवादीको पोलिटब्यूरोको बैठकले बाबुराम भट्टराई, हिसिला यमी र दीनानाथ शर्मालाई कारवाही गरेको थियो । विवाहकी बेहुली अस्मीता खड्का तिनै बाबुराम र हिसिलासँग भारतमा लामोसमय सँगै बसेकी थिइन् । बाबुराम लगायतमाथि कारवाही भएको अवस्थामा बाबुराम र हिसिलासँग लामोसमय सँगै बसेकी अस्मीताको विवाहमा माओवादीका उच्च तहका नेताहरु उपस्थीत भएको ती कमरेडहरुलाई मन परेको थिएन । त्यसैले उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

विवाहकै दिनमा यस्तो कुरा सुन्दा अस्मीताको मन निकै अमिलो भयो । तर पनि मनमनै दुखी भइन्, कसैलाई केही भनिनन् । अस्मीता सम्झिन्छन् – ‘विवाहकै दिन त्यस्तो सुन्दा निकै नराम्रो लाग्यो । तर कहाँ गएर कस्लाई भन्ने ? आफैलाई सान्त्वना दिंदै सम्हालें ।’

लामो समय भारतमा बाबुराम र हिसिलासँग बसेका कारण विवाहमा उनीहरुपनि आउलान् भन्ने लागेको थियो अस्मीतालाई । तर उनीहरु आएनन् । उनीहरु त पार्टीको कारवाहीमा परिसकेका रहेछन् । भेटघाट गर्न समेत दिइएन । उनीहरु जनमुक्ति सेनाको घेरामा रहेको हल्ला थियो । त्यसैले उनीहरु विवाहमा उपस्थीत नहुँदा अरुणालाई आफ्नै विवाह कताकता वेस्वादिलो जस्तो लागेको थियो । बाबुरामलाई विवाहको खबर पुर्याइदिन भनेपनि कसैले पुर्याएनन् ।

विवाह हुँदा अस्मीताले नुहाउन नपाएको पनि केही महिना भइसकेको थियो । त्यसमा पनि उनलाई हनहनी ज्वरो आइरहेको थियो । विवाहको मिति तय भएपछि अस्मीता र राजेशलाई खबर गरियो । अरुणा र राजेश जलजलाबाट हतारहतार थवाङ झरेर हातमुखमात्र धोएर विवाहस्थल लावाङ पुगेका थिए ।

अस्मीता सम्झिन्छिन् – ‘त्यतीबेला हिउँ परिसकेको थियो । त्यसैले निकै जाडो थियो । ननुहाएको महिनौं भएको थियो । त्यसमाथि मलाई ज्वरो पनि आइरहेको थियो । विवाहको मिति र समय फिक्स भइसकेकाले त्यो मिति र समयमा पुग्नैपर्ने थियो । त्यसैले आफ्नै विवाहमा जाँदा पनि नुहाउने समय पाइएन ।’

विवाहपछि अस्मीता र राजेश रेडियोमा फर्के । विवाहमा नआएका बाबुराम र हिसिलाई सिध्याइसके भन्ने हल्ला समेत चल्न थालेको थियो । पार्टीभित्रको अन्तरसंघर्ष अत्यन्तै चरमउत्कर्षमा पुगेको थियो । यति नै बेला बाबुरामले हातैले लेखेको एउटा पत्र रेडियो जनगणतन्त्रमा आयो ।

अरुणा भन्छिन् – ‘त्यो पत्रमा उहाँले मलाई विवाह भएको थाहा पाएको भन्दै शुभकामना लेख्नुभएको थियो । मैले अक्षर देख्नासाथ बाबुरामको पत्र भन्ने थाहा पाइहालें । तर बधाई भन्दा पनि त्यो पत्र उहाँहरु जीवितै रहेको प्रमाण थियो । जव मैले चिठी पाएर पढें, तर उहाँ जिउँदै हुनुहुदो रहेछ भन्ने विश्वास लाग्यो । त्यतीबेला म एकान्तमा बसेर धेरैबेर रोएँ । मेरो विहेमा सहभागी नभएकोमा भन्दा पनि जिउँदै भएको थाहा पाउँदा खुशी पनि लाग्यो ।’

यसरी पार्टीमा चरम अन्तरसंघर्ष चलिरहेको बेला विवाह भएको राजेश र अस्मीताको प्रेम भने २०६० सालमा जाजरकोट जाने बेलामा थाहै नपाई अंकुराउन थालेको थियो । उनीहरु रेडियो संचालनका लागि एउटा तालिम लिने क्रममा सँगै जाजरकोट गएका थिए ।

जाजरकोट जानेबेलामा बाटोमा धेरै कुराकानी भयो । पछि आएर एउटै रेडियोमा काम गर्न थाले । काम गर्दै जादाँ एकअर्काको नजिक भए । रोल्पा र रुकुमका डाँडाहरुमा हिमपात र बर्षाकाबीच लामो समय काम गर्ने दौरानमा उनीहरुको प्रेम सम्बन्ध अगाडि बढेको थियो । त्यसपछि उनीहरुले विवाहको लागि निवेदन दिएका थिए । निवेदन स्वीकृत भएपछि पार्टीका उच्च नेताहरुको उपस्थीतिमा उनीहरुको विवाह भयो ।

अन्तरजातीय विवाह गर्दा समाजका लागि एउटा सन्देश पनि दिन सकिन्छ भन्ने लागेको थियो अस्मीतालाई । त्यसमा पनि संचारको त्यतीबेलाको शशक्त माध्यममा रेडियोमा काम गर्थिन् उनी । राजतन्त्रले रेडियोमाथि समाचार प्रशारणमा बन्देज लगाएको बेला लाखौंको सुचनाको श्रोत रेडियो जनगणतन्त्र थियो ।

अस्मीता भन्छिन् – ‘त्यतीबेला जनतामा जागरण पैदा गर्न सकेमा यस्ता सामाजिक र जातीय विभेदहरु अन्त्य हुन्छन् भन्ने गहिरो छाप थियो । बर्ग र लिंगका असमानताहरु मेटिएर जान्छन् भन्ने कुराले मनमा राम्रोसँग छोएको थियो ।’

तर अस्मीताले रेडियोमा नै काम गर्ने बेलामा विभेदको सामना गर्नुपरेको थियो । त्यो जातीय विभेद भन्दा पनि डरलाग्दो राजनीतिक खालको विभेद थियो । बाबुराम पक्षधरलाई समर्थन गरेका कारण र बाबुरामसँग भारतमा बसेका कारण भोग्नुपरेको विभेद थियो । यसैबीचमा गर्भवती भएकी अस्मीता रेडियोमा नै बिरामी समेत भइन् । उनका बेलाबेलामा खुट्टाहरु सुन्निन थाले । रेडियोमा नै बच्चा जन्माएर हुर्काउन सम्भव थिएन । त्यसैले उनले त्यहाँबाट विदा हुने निधो गरिन् ।’

रेडियो वा रोल्पामै बसिरहे आफ्नोपनि र बच्चाको पनि ज्यान जोखिममा पर्ने लाग्यो उनलाई । मरेपनि आफ्नै ठाउँतिर जानुपर्यो भन्ने निधो गरेर उनले भैरहवा आउने निर्णय लिएकी थिइन् । मारे मार्लान, जे सुकै होला भनेर उनी हिम्मत गरेर यो निर्णय लिएकी थिइन् । उनको निर्णयमा राजेशले पनि सहमति जनाए ।

अरुणा सम्झिन्छन् – ‘एकातिर त्यहाँ स्याहार सुसार सम्भव भएन । म आफै बिरामी भइसकेकी थिएँ । चौध पन्ध्र बर्षको उमेरदेखि पूर्णकालिन राजनीतिमा लागेकाले आफूसँग केही पनि थिएन । तरपनि राजेशसँग सल्लाह गरेर हामी रेडियोबाट निस्कियौं । तर निस्कने बेलामा हामीलाई जम्मा १५ सय रुपैया बाटोखर्च दिइयो ।’

त्यतीबेला आफूलाई रोल्पाबाट दाङ आउनमात्र एकमहिना लागेको सम्झिन्छन् उनी । बाटोमा लुकिछिपी हिड्दै आउनुपर्ने अवस्था थियो । हात खुट्टा सुन्निएर हालत खराब भएको थियो । साथमा पैसा पनि थिएन । बाटोमा बास बस्ने क्रममा एउटा घरमा पुग्दा मासुको झोल खान दिए । उक्त घरमा राती पुग्दा अलिकति बचेको मासुको झोल रहेछ । बहिनी यस्तो अवस्थामा हुनुहुँदो रैछ भन्दै त्यही झोल र भात खान दिए । अस्मीताले आँशु मिसाएर मासुको झोल खाइन् ।

जनयुद्धको बेलामा पनि गर्भवती हुदा वा बिरामी हुँदा पहुँच हुनेहरु भारतको दिल्ली लगायतका ठाउँमा उपचारका लागि जान्थे । तर अस्मीताले भने त्यो मौका पाइनन् । उनी भन्छिन् – ‘हाम्रो त कही पनि पहुच थिएन । पहुचवालाहरु त दिल्ली पनि गए उपचार गर्न । तर हामी त कहाँ जानु ? न पहुँच, न पैसा ।’

दाङ हुँदै उनीहरु भैरहवा आए । भैरहवामा विभिन्न व्यक्तिको सहयोगमा कोठा लिएर बसे । जनयुद्ध चलिरहेकै थियो । जनआन्दोलनपनि चर्कदै थियो । त्यहीबेलामा सेनाको व्यारेक नजिकै रहेको कोठामा उनीहरु अभाव र त्रासकाबीच बसे । अस्मीता सम्झिन्छिन् -'अन्तिम भएपछि त डर पनि लाग्दो रहेनछ । त्यहाँ पनि हात खुट्टा सुन्निने भयो । निकै दुख भयो । यही समस्याका बीच छोरा अभिको जन्म भयो ।'

जातीय हिसावले अस्मीता र राजेशलाई खासै समस्या भएन । तर राजेशको घरमा थारु भाषा मात्र बोल्ने भएकाले अस्मीतालाई सुरु सुरुमा भाषगत हिसाबले भने निकै समस्या भएको थियो । तर लडाईका कारण धेरै समय घरमा गएर बस्ने अवस्था नभएकाले यो समस्या पनि लामो समय भोग्नु परेन ।

माइतीपक्षले पनि अस्मीतालाई कसैले केही भनेनन् । कहिलेकाँही दशैंतिहारमा मात्र जाने भएकाले होला, कसैले केही गुनासो नगरेको उनको भनाई छ । राजेश पनि बच्चा जन्मिएपछि दशैंमा ससुराली गए । सबैले उनलाई सहजै ज्वाईका रुपमा स्वीकारे ।

जनआव्हान साप्ताहिकमा सहसम्पादक, रेडियो पश्चिमाञ्चलमा सम्पादक, नेपाल एफएममा प्रस्तोता, जनादेश साप्ताहिकमा कार्यकारी सम्पादक, आठ मार्च पत्रिकामा सम्पादक, रेडियो नेपालको घटना र विचारमा रिपोर्टर, महिला खबरमा सहसम्पादकहुँदै हाल खसोखासमा कार्यकारी प्रधानसम्पादक अस्मीता भन्छिन् – ‘त्यतीबेला शायद जनयुद्धका डरले पनि कसैले केही भनेनन् । तर मैले अन्तरजातीय विवाह गरेपछि परिवारमा अरुले पनि अन्तरजातीय विवाह गर्न थाले । मेरै दाईको छोरीले अन्तरजातीय विवाह गरिन् । दिदीको छोराले पनि अन्तरजातीय विवाह गरे ।’