समाचार

साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान, नियमित उडानमा जोड

साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान, नियमित उडानमा जोड

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पहिलो पटक साउदी अरबमा चार्टर उडान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार नेपाल एयरलाइन्समार्फत भएको हो । 

गत आइतबार साउदी अरबको रियादबाट २४७ जना नेपालीको उद्धार भएकोमा मंगलबार राति फेरि अर्को चार्टर विमान जद्दा उड्दैछ । जद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश पर्किने तालिका रहेको छ । पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जद्दामा पनि पहिलो पटक नै उडान भर्न लागेको हो । 

उक्त चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएको छ । जसअनुसार जद्दाको चार्टर उडानमा मंगलबार दिउँसोसम्म २०० जनाको बुकिङ भइसकेको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए ।  

नेपाल एयरलाइन्सको विमान साउदीसम्म लैजान साउदीको जद्दास्थित कन्सुलेन्ट रेवती पौडेलको पहल रहेको बताइएको छ । 

अहिले संकटको बेला नेपाल एयरलाइन्स साउदीसम्म पुगेको भन्दै शर्माले अवस्था सामान्य भएपछि पनि नियमित उडानको लागि पहल हुनुपर्नेमा जोड दिए । ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने उनको भनाइ छ । 

पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ ।