राजनीति

रूकुम घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा समिति गठन गर्न माग

रूकुम घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा समिति गठन गर्न माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाको छानविन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। दुई साताअघि चौजहारीस्थित आफ्नी प्रेमीकाको घर पुगेका जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो। गाउँहरूको आक्रमणबाट पाँच जनाको मृत्यु र एक जना अझै बेपत्ता रहेको भन्दै उक्त अमानवीय घटनाको छानविन गर्न कांग्रेसले दलित सांसदको नेतृत्वमा समिति बनाउनुपर्ने बताएको हो।

सोमबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध गरेका थिए। त्यसपछि सांसद मानबहादुर विश्वकर्मा उठेर बोलेका थिए। गृहमन्त्रीले उनीहरू भेरीमा हामफाले भन्नुभएको छ। तर पोस्टमार्टम गर्दा मृतकका पेटमा पानी आएको छैन। मान्छे हामफालेपछि पहिले पानी पिउँछ। तर पेटमा पानी नआउनुको कारण मारेर फालिएको थियो,’ उनले भने।

गृहमन्त्रालयले कर्मचारीको नेतृत्वमा बनाएको छानविन समितिले न्याय दिन नसक्ने उनले बताए। गृहले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।उक्त घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस्,’ उनले भने, ‘गठन भएन भने योभन्दा कडा कदम चाल्न बाध्य नपारियोस्।’

यस्तै कांग्रेसका सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोलेका सांसद थापाले दलितका हकअधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले अनुहारमा कालो पोतिएको बताए। ‘दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ,’ सांसद थापाले भने।