राजनीति

प्रधानमन्त्री ओलीलाई झट्का, काठमाडाैंसहित पोखरा र बिराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन

प्रधानमन्त्री ओलीलाई झट्का, काठमाडाैंसहित पोखरा र बिराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । कोरोना संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीलाई अर्को तनाव आइलागेको छ । त्यो तनाव हो उनीबिरुद्ध काठमाडाैंसहित देशभर भइरहेको प्रदर्शन ! सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहि लो पटक हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

त्यस्तै कास्कीको पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् । नाराबाजी गर्नेहरुले नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्वको विराटनगरमा पनि प्रदर्शनी भएको छ । प्रदर्शनमा विराटनगरका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् । प्रदर्शनकारीले १० अर्ब खोई, आरडीटी होइन पीसीआर परीक्षण, सरकार कि जाग कि छाड आदि लेखिएको प्लेकार्ड बोकेका थिए ।

बिहीबार र्‍याली निकाल्दै प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका युवाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरेका छन् । बिहीबार स्वतस्फूर्त रुपममा सडकमा निस्किएका युवाहरुले प्रदेश मुख्यमन्त्रीको कार्यालय र विराटनगर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।