समाचार

रुपन्देही र दाङमा गरि थप २२ जनामा कोरोना पुष्टि

रुपन्देही र दाङमा गरि थप २२ जनामा कोरोना पुष्टि

काठमाडौं । रुपन्देही र दाङमा गरी थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै रुपन्देहीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । सहप्रवक्ता डा अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका दुईजना पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा गाउँपालिकाका २६ वर्षका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु मायाँदेवी गाउँपालिकाका १९,२१,२६,२६, २७, ३५ र ४० वर्षका पुरुषहरु र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आजै नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

यस्तै दाङमा सोमबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार दाङको रामपुर क्वारेन्टाइनमा रहेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ७ जना पुरुष, एक जना बालिका र एक जना महिला छन् । नयाँ थपिएका संक्रमितहरु घोराही उपमहानगर पालिका १ का ३० वर्षका पुरुष र ११ वर्षीया बालिका रहेकी छन् ।

यस्तै सोही उपमहानगरपालिकाको वडा नम्बर २ का १९ वर्षीया महिला, २६, ४०, ४५ र ४६ वर्षका पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।