अभिलेख

सांसदको कोरोना रिपोर्ट नेगेटिभ, आज स्वाब दिने सांसदले बैठकमा भाग लिन नपाउने

सांसदको कोरोना रिपोर्ट नेगेटिभ, आज स्वाब दिने सांसदले बैठकमा भाग लिन नपाउने

काठमाडाैं । संसद अधिवेशन सुरु हुन एक दिनअघि बिहीबार स्वाब संकलन गराएका सांसदहरूको कोरोना भाइरस (कोभिड- १९)को परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सांसदहरू र कर्मचारी गरी ४ सय ४० जनाको स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

संसद सचिवालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शुक्रबार दिउँसो सांसद र कर्मचारीहरूको स्वाबको रिपोर्ट सचिवालयलाई बुझाएको थियो । बिहीबार प्रतिनिधिसभाका १ सय ७९ र राष्ट्रिय सभाका ३३ जनाको स्वाब संकलन गरिएको थियो । जसमा मन्त्रीहरू पनि रहेका छन् ।

स्वाब संकलन गरिएका अन्यमा संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी रहेका थिए । उनीहरूको पीसीआर परीक्षण गरिएको हो । त्यस्तै, शुक्रबार पनि सांसद र कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो । आज स्वाब संकलन गरिएका सांसदहरूले संसद बैठकमा भाग लिन नपाउने सम्भावना रहेको छ ।

कोरोना परीक्षण गरेको रिपोर्ट नलिई संसद प्रदेश गर्न नपाईने निर्णय भएको र उनीहरूको कोरोना परीक्षण रिपोर्ट आजै आउने सम्भावना नरहेकाले उनीहरूले संसद बैठकमा भाग लिन नपाउने भएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रिय सभाका १० जना सदस्यको स्वाब संकलन गरिएको थियो । शुक्रबार सांसद र कर्मचारीको गरी २५१ जनाको स्वाब संकलन गरिएको थियो ।बिहीबार र शुक्रबार गरी सांसद, कर्मचारी, सुरक्षाकर्मीको गरी ६ सय ९२ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।

उनीहरूको परीक्षणको रिपोर्टबारे आधिकारिक रूपमा स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछ । दुवै सदनका गरी ५४ जना सांसदको भने कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेन । उनीहरूले अब टेकु गएर स्वाब परीक्षण गराएपछि मात्रै संसद बैठकमा सहभागिता जनाउन पाउनेछन् ।

विशेष

ADVERTISEMENT