समाचार

रुकुम घटनामा मृत्यु भएका ५ जनाको पोस्टमार्टम रिपोर्ट आयो, केहो बास्तविकता ?

रुकुम घटनामा मृत्यु भएका ५ जनाको पोस्टमार्टम रिपोर्ट आयो, केहो बास्तविकता ?

जाजरकोट । रूकुम पश्चिम घटनामा ज्यान गुमाएका पाँचै जना युवाको पोस्टमार्टम रिपोर्ट आएको छ । भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेका बेला भएको घटनापछि भेटिएका ५ वटा शवको पेटमा पानी नभेटिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टममा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकको भनाइ छ । मृतक पाँचै जनाको टाउको, अनुहारलगायत अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए ।

‘टाउको, हात, खुट्टा, छाती र पिठ्यूँमा कडा प्रहारका कारण चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ पेटमा पानी नहुँदा नदीमा बगेको भन्न सकिने अवस्था पनि कम रहेको उनले बताए । ‘भेरीमा शव भेटिए पनि मृतकले पानी खाएको हुनुपर्नेमा पेटमा पानी नदेखिँदा घटना थप जटिल र शंकास्पद बनेको छ,’ उनले भने । अस्पतालले मृतकको शरीरबाट लिइएको नमुना भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

सोतीमा शनिबार भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले शुक्रबार काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले शुक्रबार सन्दीप विकको शव हेरेको थियो । टोलीले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको थियो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गर्ने जानकारी दिए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित समितिलाई छानबिनको जिम्मा दिएको छ ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित उनका साथीहरूमाथि आक्रमण भएको थियो । बिकसहित १८ जनामाथि गाउँलेले ढुं’गामुढा गर्दै लखेटे । नवराजसहित ५ जनाले ज्यान गुमा १ जना बेपत्ता  छन् । १२ जना मुस्किलले बचाएर भागेका थिए। घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । जाहेरीमा किटान गरिएका २ जना फरार छन् ।