राजनीति

बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो, विदेशमा रहेका नेपालीकाे चाँडै उद्दार हुन्छ - प्रधानमन्त्री ओली

बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो, विदेशमा रहेका नेपालीकाे चाँडै उद्दार हुन्छ - प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको बताएका छन् । सोमबार राष्ट्रका नाममा संबोधन गर्दै उनले स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका हुन । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ ।

समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ उनले भने । छिमेकी मित्र राष्ट्र भारतबाट घर फर्किनेहरु विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिने खतार समेत बढेको सम्बोधनका क्रममा प्रधानमन्त्रीले बताए ।

त्यस्तै ठूलो दु:ख खपेर मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको देखिएको प्रधानमन्त्री ओलीले बताएका छन् । सम्बोधनमा उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि फेरि आग्रह गरेका छन् ।

यसका साथै उनले परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएको पनि बताए । उनले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि उनले आग्रह गरे । घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

विश्वकै अवस्था हेर्दा कोभिडको महामारी अझै केही समय रहने देखिएको भन्दै यसलाई समुदायमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयले केही नयाँ कदमहरु चाल्ने पनि उनले बताएका छन् । समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्ने समेत उनको भनाइ छ।

कुनै पनि विषयले कोरोनाविरुद्धको युद्धलाई कमजोर नपार्ने भन्दै उनले भने,‘मानिसको जीवन नै सबैभन्दा ठूलो कुरा हो ।’ उनले सरकारले निरोगी नेपाल अभियान थाल्ने समेत जानकारी दिए । प्रधानमन्त्री ओलीले स्थानीय तहलाई थप सक्षम बनाइने बताएका छन्। उनले स्वास्थ्य सेवा र राहत वितरणमा पनि स्थानीय तहलाई सक्षम बनाइने बताएका छन्।

मुलुकबाहिर रहेका नेपालीहरु घर फर्कने क्रम शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले धेरै नेपाली रहेका मुलुकका सरकारप्रमुखसँग आफूले कुरा गरिरहेको समेत जानकारी दिए । उनले स्वदेश फर्कन चाहने नेपालीलाई तत्काल नेपाल ल्याउन आवश्यक आदेश सरकारले जारी गर्ने समेत बताएका छन् ।