राजनीति

बाबुराम भट्टराईलाई ऐन महरले ‘श्रद्धाञ्जली’ दिएपछि सामाजिक सञ्जालमा खैलाबैला

बाबुराम भट्टराईलाई ऐन महरले ‘श्रद्धाञ्जली’ दिएपछि सामाजिक सञ्जालमा खैलाबैला

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईलाई आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् ।

सामाजिक सञ्जाल फेबुकमा स्टाटस लेख्दै उनले डा भट्टराईलाई निक्कै तल्लोस्तरमा गिरेर गाली गरेपछि उनीबाट आम विद्यार्थीले कस्तो संस्कार सिक्लान् र माउ पार्टीले कस्तो विद्यार्थी नेता जन्माए भन्ने प्रश्न खडा भएको छ ।

पटक पटक सामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीप्रति तल्लोस्तरको भाषाशैलीका साथ आलोचनामा उत्रिने उनले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई श्रद्धाञ्जली नै दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’ उनले फेसबुकमा लेखेका छन् ।

बाबुरामलाई यसरी आपत्तिजनक टिप्पणी गरेपछि धेरैले महरको आलोचना गर्दै प्रतिक्रिया दिएका छन् । अत्यधिक आलोचना भएपछि उनले आफ्नो फेसबुकमा अभिव्यक्ति सच्याए । त्यसपछि उनले लेखे -' 'धेरै पढे बिद्धान हुन्छ बिद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ। यिं गद्धार दलाल राष्ट्रघातिले जब राष्ट्रको सबाल आउँछ अनि आफ्नो असली रुप देखाई हाल्छन । नेपाली जनता अब यस्ता गद्धारहरुको भ्रम बाट मुक्त हुन जरुरी छ ।'

दोस्रोपटक पनि स्टाटस सच्याएका महरको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले खेदो खन्न नछोडेपछि उनले तेस्रोपटक आफ्नो भनाइ सच्याउदै लेखे -'धेरै पढे बिद्धान हुन्छ बिद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ। यिं गद्धार दलाल राष्ट्रघातिले जब राष्ट्रको सबाल आउँछ अनि आफ्नो असली रुप देखाई हाल्छन र मालिकको आदेश आए पछि देशका बिरुद्ध भुक्न शुरु गर्छन। नेपाली जनता अब यस्ता गद्धारहरुको भ्रम बाट मुक्त हुन जरुरी छ ।'

महरले चौथाै पटक पनि आफ्नो स्टाटस सच्याएका छन् । 'धेरै पढे बिद्धान हुन्छ बिद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ। यिं गद्धार दलाल राष्ट्रघातिले जब राष्ट्रको सबाल आउँछ अनि आफ्नो असली रुप देखाई हाल्छन र मालिकको आदेश आए पछि देशका बिरुद्ध भुक्न शुरु गर्छन। नेपाली जनता अब यस्ता गद्धारहरुको भ्रम बाट मुक्त हुन जरुरी छ ।कृपया स्मरण रहोस यिनको अभिव्यक्ति : मान्छे नरहे पहाड (लिपुलेख,कालापानी र लिम्पियाधुरा)मात्रले राष्ट्र बन्ला???'  उनले भनेका छन् ।

भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए ।

‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्, तिनको परीक्षण, व्यवस्थापन हुन सकेको छैन। अरिङ्गाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईँमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’ डा भट्टराईले भनेका थिए । तस्विरमा हेर्नुहोस यसरी सच्याइएको छ स्टाटस....

ADVERTISEMENT