अर्थ पर्यटन राजनीति

एजेन्टलाई कमिसन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

एजेन्टलाई कमिसन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् ।

अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टङ्कनिधि दाहाललाई एजेन्टलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएको विषय स्पष्ट पार्न पनि निर्देशन दिएका छन्  ।

यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँ भन्दाबढी नोक्सानी गरेको समाचार प्रकाशन भएलगत्तै मन्त्री भट्टराईले निगमका नेतृत्वलाई बोलाएर यो विषय स्पष्ट पार्न निर्देशन दिएका थिए ।

यही चैत १९ गते बुधबार निगमको जहाज काठमाडौंबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १०० डलरका दरले शुल्क लिएको छ । निगमले २५ घण्टा (काठमाडौँ–अष्ट्रेलिया–काठमाडौँ) उडानको चार्टरबापतको रकम ५ करोड ४९ लाख १५ हजार ४०० रुपैयाँ तिरेको हो ।