समाचार

चीन अझै चिन्तित,  कोरोनाको खतरा कायम 

चीन अझै चिन्तित,  कोरोनाको खतरा कायम 

काठमाडौं । कोरोना भाइरसको उद्‍गम थलो चीनको वुहान सहर अझै पनि खतरामुक्त नभइसकेको बताइएको छ । सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका नेता वाङ झोङलिनले वुहान सहरमा अहिले पनि कोरोना भाइरसका किटाणु घुमिरहेको चेतावनी दिएका हुन् । उनले प्रशासनलाई भाइरस नियन्त्रणका उपाय जारी राख्न अपिल गरेका छन् । 

चीनमा कोरोनाका कारण मृत्यु भएका मानिसहरुको अन्तिम संस्कार कार्यक्रम गर्न रोक लगाइएको छ । भाइरसको डर यति धेरै छ कि मानिसहरु आफन्तको मृत्युमा शोक प्रकट गर्नसमेत पाइरहेका छैनन् । 


यसैबीच चिनियाँ सरकारले कोरोना सङ्क्रमितसँग कुराकानी गर्न क्रम जारी राखेको छ । शुक्रबार मात्रै चीनमा चार नयाँ सङ्क्रमित फेला परेका थिए । ६० जना थप नयाँ बिरामीमा सङ्क्रमणको लक्षण देखिएको बताइएको छ । कोरोनाका कारण चीनमा ३३२२ जनाको मृत्यु भएको थियो । 

चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सुरु भएको कोरोनाबाट त्यहाँ ८१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चीनबाट सल्केको कोरोना भाइरसको आगोले अहिले सबैभन्दा बढी युरोपेली मुलुक आक्रान्त हुन पुगेका छन् भने पछिल्ला रिपोर्टले अमेरिकामाथि ठूलो चिन्ता थपिएको छ । सङ्क्रमण रोक्ने सवालमा अमेरिका चुकेको देखिन्छ । इटलीमा नागरिककै गैरजिम्मेवारीका कारण समस्या गम्भीर बनेको देखिन्छ भने बेलायतले रोकथामका लागि विभिन्न प्रयास जारी राखेको छ । 

उता, यो भाइरसको नियन्त्रणको उपाय पत्ता लगाउनका निम्ति अस्ट्रेलियालगायतका मुलुकका वैज्ञानिक तथा चिकित्सक अहोरात्र शोधमा जुटेका छन् । संसारको आधा जनसङ्ख्या घरभित्रै छ भने उत्तरकोरोनाको समयमा दुनियाँ कसरी चलाउने भन्ने समस्यामा शक्तिराष्ट्र घोरिन थालेका छन् । 

नेपालजस्ता तेस्रो विश्व मानिने र गरिब मुलुकलाई आफ्ना नागरिकमा कसरी चेतना जगाउने भन्ने विषयले पिरोलेको छ । तिनका निम्ति कोरोनामात्र होइन, सङ्कटको समयमा लुट्न पल्केकाबाट मानिसहरुबाट कसरी पार पाउने भन्ने विषयले समेत चिन्ता थपिदिएको छ । नेपालमा हालसम्म केवल ६ जनामा मात्र पोजिटभ देखिएको छ । लकडाउनलाई कडा गर्नुको विकल्प नेपालजस्ता कमजोर पूर्वाधार भएका मुलुकसामु अर्को छैन । (एजेन्सीहरूको सयोगमा)

ADVERTISEMENT