विचार

सरकारमा लुट, प्रतिपक्षमा गुट

सरकारमा लुट, प्रतिपक्षमा गुट

राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन् । साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले । पेट्रोल पम्प खुलेको थुप्रै समय वितिसक्दा एउटा गाडी पनि  तेल भर्न नआएपछि चकित भए । यसो हुनुको रहस्य खुल्यो– पम्प भवनको दुईतलामाथि बनाइएको रहेछ । 

पम्प नचलेको झोंकमा त्यही ठाउँमा रेष्टुरेन्ट खोल्ने टुंगो गरे । दुर्भाग्य त्यहाँ एउटा ग्राहकले पनि पाइला राखेनन । कुरा के रहेछ भने रेष्टुरेन्ट त खोलियो तर पेट्रोल पम्पको साइनबोर्ड नै हटाउन बिर्सिएछ । ज्योतिषको सल्लाहअनुसार व्यापारको चरित्र परिवर्तन गरी ट्याक्सी व्यवसायमा उनीहरुले हात हाले । ट्याक्सी खरिद भयो । यात्रु खोज्न दिनभरि भौंतारिए । एउटा यात्रु पनि उनीहरुको ट्याक्सीतर्फ लम्कदैनथ्यो । समस्या के परेछ भने यात्रु खोज्न उनीहरु चारैजना त्यही ट्याक्सी चढेर जान्थे । भीमकाय शरीर भएका चारजना ट्याक्सी देखेपछि कसैले ट्याक्सी खाली छ भनेर सोध्ने आँट नै गर्दैनथे । 

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन्  ।अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै आफू  निरंकुशशास्त्रको पीएचडी हासिल गरेको तथ्य नेतृत्वले हेक्का नराख्नु नै हो । ०७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई बिजुली गारत नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरुको त्यो हविगत हुने नै थिएन । राजा भर्सेज नेताको युद्ध शुभारम्भ यो सानो भूलबाट भयो ।

राणा निस्तेजपछि फेरि प्रधानमन्त्री बनेका मोहनशम्शेरले बीपीलाई सम्झाउँदै भनेका थिए– ‘बीपी बाबु , तपाईंहरु पढे लेखेका देश विदेश खाएका भएपनि देश चलाउने विषयमा तपाईंभन्दा म अनुभवी छु । मैले भनेको मानेर बिजुली गारत दरबारबाट झिकौं । कालान्तरमा तपाईंहरुलाई यही गल्तीले पिरोल्ने छ ।’ आखिर भयो त्यस्तै ।

०७ सालदेखि ०१४ साल अर्थात सुन्दर लक्की सेभेन हुनुपर्ने नेपाली राजनीतिको कालखण्ड अनलक्की श्रृंखलामा वित्यो । त्रिशंकु खेलकुदले राजनीतिलाई दाउपेचमा अनुवाद गर्यो । त्यो बेला पनि राजनीतिमा कुखुरा चोरहरुको हालीमुहाली चल्यो । दाजुभाइ फुटाएर काँग्रेस ध्वस्त पार्न जनताका नेता मातृकाप्रसाद कोइरालालाई मानार्थ सेनाको जर्नेल बनाएर सैनिक पोसाकमै सार्वजनिक गरियो । 

२०११ सालमा युवा राजा महेन्द्रको उदयसंगै समवयी राजा–नेताबीच शक्ति सघर्ष चल्यो । एकथरि नेता  र अर्काथरि राजा उचाल्न प्रतिस्पर्धा गर्न थाले । अनपेक्षित पात्रहरु केन्द्रीय राजनीतिमा हावी भए । बीपीका विश्वासपात्र चोर्ने रणनीतिमा राजा महेन्द्र पर्दा पछाडि खेल्न थाले । अनेकन दबाबबीच ०१५ सालमा चुनाव भयो । बीपी नेतृत्व सरकारले दुई तिहाइ मत हासिल गरेर शक्तिशाली सरकार बनायो । बीपीमा जनमतको अहं, राजामा वंशाणुगत राजा भएको दम्भ । अन्तत  कहिले राजा बोकेर नेता र नेता बोकेर राजा हान्ने रणनीतिमा रहेका जवाहरलाल नेहरुले राजालाई काँध थापेर दुई तिहाईको काँच घरमा घन हाने । 

लोकतन्त्रको घर भत्कियो । जनमतले बनेकै भरमा लोकतन्त्र बलियो हुन्छ भन्ने मिथ्या हो भन्ने यो भन्दा निर्मम दृश्य अरु के हुन्छ र ? त्यही जगमा राजाले पञ्चायत नामको घर बनाए । त्यो घर पनि राजाको डिजाइन अनुसार बनेन । राजाको भिजनले आफ्नै व्यवस्थामा न्याय पाएन । बरु राजालाई अकबर बादशाहजस्तो मूर्ख बनाएर दाइँ गर्ने पात्रहरुको उदय भयो । त्यो श्रृंखला आजका मितिसम्म गणतान्त्रिक व्यवस्थामा समेत सक्कल बम्मोजिम नक्कल बनेर उपस्थित छ । 

धेरै कालखण्डपछि प्राप्त गणतन्त्र ‘भूईंमा न भाँडामा, रित्ता डाँडामा’ प्रमाणित हुनु पछाडिका प्रमुख कारण पनि यिनै हुन । नेताहरुले राजाको विरोध गरे, तर राजामहाराजको विलासिता मस्तिष्कमा बोके । पदमा नपुगेसम्म नारीले आफूलाई नारीको कोटीमा राखे । पद पाएपछि जुँगामुठे पुरुषको दम्भ पाले । गणतन्त्रको रक्षक मानिएका नेताहरुको गतिविधिप्रति जसले खबरदार गर्यो, उसलाई महाशत्रु घोषणा गर्ने परम्परा वीजारोपण गरियो । गणतन्त्रको सर्वोच्च शिखर मानिएको राष्ट्रपतिलाई अप्रिय बनाउन गणतन्त्रकै शिल्पी टुप्पी कसेर लागिपरेका छन् । 

ठूला मानिसलाई राजश्व तिरेर सुविधा किन दिइएको हुन्छ भने उनीहरुले फेरेको श्वास पनि देश हितमा हुन्छ भन्ने मान्यता जीवित राख्न हो । जब देशको सर्वोच्च भनिएकै निकाय हेलिकोप्टरको उपयोग माइती मावली भेटघाट,  लिफ्ट उद्घाटन, स्कुलको वार्षिकोत्समा गरिन्छ भने त्यो व्यक्ति र व्यवस्था दुवैको दुरुपयोग हो । कानुन मिचेर भावनाको निर्णय गर्दा त्यो बेथितिको सञ्चयकोष भएर रहिरहन्छ । त्यसले अन्तत  डस्ने आफैंलाई हो । 
हिजो यस्तै खेलाँची गर्दा राजा दरबारबाट खँदारिए ।

बीपी, गणेशमानसिंह, कृष्णप्रसाद, गिरिजाप्रसाद कहाँबाट कहाँ पुर्याइए ? जिन्दगी नै काँग्रेसको बलिबेदीमा होमेका  गणेशमानसिंह, कृष्णप्रसादजस्ता महापुरुषको उत्तराद्र्ध सकसै सकसमा बित्यो । सत्तामा हुँदा लुटैलुट र सत्ता बाहिर गुटैगुटको प्रलापमा यी महानआत्माहरु अटाउन सकेनन् । व्यवस्था फेरियो, पार्टी फेरियो, व्यक्ति फेरिए तर राजनीतिको कोर्स उही छ । कितावको एउटा च्याप्टर फेर्ने साहस कसैले गरेन । बरु व्यक्तिगत स्वार्थको दाउलाई व्यवस्थासंग जोडियो । 

मुलुकका कार्यकारी र संवैधानिक निकाय पुरै बद्नामी चक्रव्यूहमा फसेका छन् । गफको विकल्प काम हुनुपर्नेमा गफको ठाउँ महागफले लिइरहेको छ । हुँदा हुँदा मानिसको सुरक्षाका लागि कोरिएको जेब्राक्रसमा अधिकांश पैदलयात्रुको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।  राष्ट्रपतिदेखि वडा सदस्यसम्मको दैनिकी भाषण र घुमफिरमा वित्ने गरेको छ । देशका विमानस्थल भीआईपी नै भीआईपीको लर्कोले भरिएको छ । कोही कसैलाई फुर्सद छैन । बेफुर्सदी कामको नभएर गफको हो । 

प्रचण्ड मुलुकको दुईपटक कार्यकारी सरकार प्रमुख भए । अहिले पनि दुई तिहाई सरकारको जिम्मावाल छन् । यद्यपि क्रान्तिको धमास दिन छोड्दैनन् । पूँजीवादी, दलाल, प्रतिक्रियावादीजस्ता अर्मूत शब्दको बेमिसाल आक्रमण तीब्र छ । केपी ओलीसंग थोरै हिसाव नमिल्ने वित्तिक्कै मारकाटका लागि अर्को माओवादी शक्ति जन्मिने उद्घोष गर्छन । प्रचण्डकै चेला नेत्र विक्रम चन्द विप्लवले क्रान्तिका नाममा अर्को वितण्डा शुरु गरिसकेका छन् । प्रचण्डले माओवादी विद्रोह जन्मिन्छ भन्नु विप्लवले निसाना मिलाउनुको तादात्म्य के हो त्यो त तिनै दुई पात्र या भगवान जानुन तर यो कहिल्यै नसकिने कम्युनिष्ट क्रान्ति के हो ? दमले छियाछिया पारेको ज्यान लिएर हिँडिरहेका मोहन वैद्यलाई पनि क्रान्तिको नशाले छोडेको छैन । 

राज्यसत्तामा टेण्डर नपरेका हरेक कम्युनिष्टका नशामा क्रान्ति अधुरो छ भने सत्ता नपाएको काँग्रेस लोकतन्त्र धराप परेको चिन्ताले मरिच भएको छ । क्रान्ति, लोकतन्त्र या गरीब जनताको हवाला दिएपनि यी सवै आवरण लुट्न नपाएको आक्रोश सिवाय केही होइन । मुलुकमा भएका ‘टपटेन अपराध’मा टपटेन नेता या तिनका परिवारका सदस्यको नाम जोडिएको खबर सार्वजनिक हुन्छ । प्रधानमन्त्री केपी ओलीका नजन्माएका सन्तान, उपराष्ट्रपति, पूर्वसभामुख, गृहमन्त्रीका छोराछोरी गुण्डागर्दी, ठेक्कापट्टा, भ्रष्टाचारीको मतियार भई तुच्छ प्रकरणमा जोडिनुजस्तो अनैतिक, अमर्यादित अरु के हुनसक्छ ? 

कोही कलमको ह्रस्व दीर्घ, तर्कुले, कान्दानी, बाइमात्रा, किन्तु , परन्तु मिलाएर मार्ने त, कोही    खुँडा , खुकुरी उध्याएर मार्ने । आखिर मार्र्नेमा सबैको सहमति छ । विना पूर्वाग्रह भन्ने हो भने नेपालका कम्युनिष्टहरु चरम विलासी बन्दै गएका छन् । राजनीतिक समानता उनीहरुको राजनीतिक प्राण भएपनि व्यक्तिगत सम्पति आर्जनमा उनीहरुको ध्याउन्न दिन दुईगुना, रात चारगुनाको दरले बढ्दो छ । पाखण्ड छोप्ने जामा नलगाउने हो भने अधिकांश सर्वहारा वर्गका नेता तथा कार्यकर्ता राजधानीबासी भएका छन् । काठमाडौंको अधिकार जनताको ढोका ढोकासम्म पुगोस भन्ने कसैको इमान्दार प्रयास छैन । संघीयता त महत्वाकांक्षी कार्यकर्तालाई जागिर लगाउन खोलिएको भर्ती हो । जसले हजारौं कार्यकर्ताको मुखबुजो लगाएको छ । स्वयं प्रधानमन्त्री संघीयता मोटाएको देख्न चाहँदैनन् । 

डाइनोसर हुन लागेको माओवादी एमालेको वैतरणी तरेर आएपछि एकाएक हात्ती बन्यो । भीमकाय कम्युनिष्ट पार्टीको ‘पाइलट’ हुन पाएको प्रचण्डलाई उँडी उँडी भएको छ । उनी पार्टीको एकल र सरकारको मुखिया बन्ने स्टेशन कुरेर बसेका छन् । लोकसेवा लड्न नपर्ने, एक समय गरेको त्याग सधैं एटीएम कार्डको रुपमा प्रयोग गरेर फाइदा लिइराख्न मिल्ने डेट एक्सपायर नहुने गज्जव उद्यम बनेको छ । आफ्ना परिवारका तीनपुस्ते, नोकरचाकर, चण्डमुण्ड, ढोके, हुक्के सबैलाई व्यवस्थापन गर्न मिल्ने यस्तो पोषणयुक्त संघीय गणतन्त्र विश्वमै छैन होला । यदि  यो अभिष्टमा कोही भिलेन भएको भान भयो भने गणतन्त्रमाथिको प्रहार भनेर काँचो खरमा आगो लगाउन मिल्ने सुविधा पनि यस भूमिको गणतन्त्रले दिएको छ । 

जसरी टोलटोलमा पुगेर जातका नाममा राज्य बाँड्ने आश्वासन बाँड्दा त्यसको प्रहारले अहिलेसम्म नेताहरुलाई ऐंठन हुने गरेको छ, संघीयताको लाभाले धेरैको राजनीतिक भविष्य उत्तराद्र्धमा पुगेको छ । अरुको डिजाइनमा खेल्ने पात्र हुँदाको परिणाम नेताहरुको मनोविज्ञानभित्र राम्रै पर्न थालेको छ । साँच्चै भन्ने हो भने अबको राजनीति ‘न मरी जानु, न गरी खानु’को अवस्थामा प्रवेश गर्दैछ । नेताभन्दा एजेन्टहरुको संख्या बाक्लिदै गएको अवस्थामा एमसीसी, बीआरआई यस्ता अस्त्र हुन– न निल्न सकिन्छ, न ओकल्न नै । 

केपी ओली प्रचण्ड शेरबहादुर देउवा