कला साहित्य

त्यसैले आउ हामी बिहे गरि खेलौं

त्यसैले आउ हामी बिहे गरि खेलौं

पार्वती अधिकारी 

तिमी वाचा गरे जस्तो गर, म कसम खाएजस्तो गर्छु ।
तिमी साथ दिएजस्तो गर, म मुस्कुराएजस्तो गर्छु ।
आखिर झुटै झुटमा चलेको संसारमा थोरै अभिनय गर्दा कसको के नै पो जान्छ र? 
आउ, अग्निमा सात फन्को लगाउँ, पण्डितको स्वाहा संगै 
स्वाहा मिलाउँ ।
दस दुनियाँलाई देखाईदिउँ । 
तिमी सिन्दुर लाएजस्तो गर, म शिर थापेजस्तो गर्छु । 
आखिर सिन्दुर, के नै होर, रातो रङको धुलो न हो ।
 पुछे लतपतिन्छ, धोए पखालिन्छ ।
त्यसैले आउ, हामी बिहे गरि खेलौं ।

तिम्रो कोटको गोजीभित्र लतपतिएको ऋणको कालो टाट‍ो प्रष्टैसंग देखिन्छ ।
तिम्रो अनुहारको मुस्कानसंग हराएका खुसिका प्रश्नपत्रहरु छरपस्ट छन् ।
मेरा गला घोच्न पुगेका यी सुनहरु सुन्निएर निसास्सिएका छन् । 
 तर मन शान्त छ,किनकि हामी नाटक मन्चन गर्दै छौं ।
सयौं दर्शकको आवत जावत छ ।  

यी दर्शकहरु पनि न खाए जस्तो गर्छन्, न पाए जस्तो गर्छन्, न रमाएजस्तो गर्छन् ।  

यी दर्शक र पात्रहरुको बिचमा खडा भएको अर्को पात्र हौं हामी । त्यसैले आउ हामी बिहे गरि खेलौं ।

तिमी घरखर्च चलाउ, म बर्षै पिच्छे बच्चा कोरल्छु ।
छोरा जन्मिएन त के भो तिमी अर्को बिहेको नाटक गर, 
बच्चा जन्माउने मेसिन फेर, भैहाल्छ नि ।

 छोरी गर्भमा आईहाले भने मेरा मेसिनबाट उसलाई संसार देखाईदिनु हुँदैन । पठाईदिउँला अर्कै संसारमा, यो संसार देख्नुभन्दा पहिले नै ।
 किनकि तिम्रा पुर्खा जोगाउन छोरा त डाक्नै पर्यो नि। 

तिमी आफ्नै तनावमा म आफ्नै हतारमा ।
वर्षै पिच्छे कोरलेका तिम्रा नामका सन्तानहरुको गुँड सम्हाल्नै पर्यो । 
आखिर घरमा थुप्रिएर मेरो काम नै के हुन्छ र??
बेकामे, मसंग सम्पुर्ण जिम्मेवारी सम्हालेको तिमि बेला बेला झर्किए जस्तो गर,
कहिले काहीँ घर छाडेर जा भन्दै धम्की देउ,
कहिले काहीँ पाट्ट पिट्ट पनि गर 
आखिर पुरुषार्थको सर्टिफिकेट जो छ तिमीसंग ।
त्यसैले आउ हामी बिहे गरि खेलौं ।

पछि हामी सानो निहुँमा खटपट गरौं, आगोमा घ्यु थप्न दायाँबायाँबाट आईहाल्छन् । 
एउटा कागजमा कालो मसिले दुईचार अक्षर केरिदिएपछि 
हामी फेरि अलग अलग संसारमा जिउन थालिहाल्छौं नि ।

आखिर बिहे त एउटा कागजको ख‍स्टोमा त अडिएको हुन्छ । खोष्टो, हावाले उडाए सकिने , पनिले भिजे पनि गल्ने ।
कति कमजोर खोष्टो ।

त्यसपछि,, तिमी खोष्टो फेर, तिमीसंग त मेरा नामका यादहरु पनि बाँकी हुँदैनन् त्यतिबेला ।
म संग अझै तिम्रा नामका सिन्दुर बाँकी हुनेछ, दागहरु मेरा शिरमा हुनेछन्, चोटहरु मेरा मनमा हुनेछन् ,
 तिम्रा नामका ८-१० जना लालाबाला हुनेछन्,
तिमी अझै पनि १६ वर्षे हुनेछौ ।
त्यसैले , नडराउ, आउ हामी बिहे गरि खेलौं ।

होईन भने, खेल होईन जीवन, झेल होईन जीवन । 
कागजमा अल्झिएको नातासम्बन्ध, कसरी निस्वार्थ हुन सक्छ ?
सम्बन्ध गाँस्न र निभाउन चाहान्छौ भने आउ आमासंग सिकौं ।
कागज च्यातिदिउँ र हामी जन्म जन्मान्तरसम्म संगै यात्रा गरौं ।

नाटक मन्चन जिन्दगीको