कला साहित्य

कविता: आम मान्छेहरू

कविता: आम मान्छेहरू

कमल पोख्रेल

बिहान,
म बार्दलिमा बसेर, टोलाइरहेछु 
र हेरिरहेछु ।
सितले भिज्दै गरेका 
हिजोको अनिन्द्राले विरक्तिएका 
एक झुन्ड । मान्छे 
सरलताको बाछिटाले चुटिएका
अफ्ठ्यारोले सजिने बहाना
खोजेका,
तिनिहरू
मानिस बन्न नसकेर
वा मानिस बन्ने ल्याकत 
भएन,
मैले बुझिन र अनिताले पनि बुझिनन ।

भर्खर घाम घुम्टो खोल्दै छ
फुउउउ, फुउउउ 
चुलोहरू सल्किन थाले,
अरू विहान जस्तै
दैनिकी शुरू भयो,
झिनो आशमा
कोही बारीमा, गोडमेल गर्न थाले
विद्यार्थी भारी बोकेर
विद्या मन्दिरतिर लागे,
कसैले प्रजातन्त्रको व्यापार गर्न थाले,
फुर्सद छैन कसैसंग,
समय बेच्दा, मान्छेको चरित्र 
उस्ताद रगंमञ्च बेच्दा
केवल टोलाइरहेछु, 

किनारमा बाँधिएको डुंगा 
जस्तो चल्मलाउन खोज्छु
सक्दिनँ, तैरिएर पर-पर
जान पनि सक्दिनँ 
म चुप छु, र नियालिरहेछु
नियतीमाथि
थुप्रिएका अनेकन बन्देजहरूसंग ।

म फेरि फर्किन्छु,
स्कुलमा,
दुखी ती दिनहरू
चलचित्रको प्रभावले होइन 
यथार्थले बनाएको थियोे 
मलाई,
कापेका स्वरमा स्वर मिलाउन,
छुट्टिएको सम्बन्धलाई एक बनाउन
ढाडस दिन
सिकेको थिए,
यी सबै भोगाइले सिकायो मलाई 
संस्कार सिकाउन 
कतै पनि गुरु राख्ने
चलन थिएन ।
कुनै वादूवा सिद्धान्त बाट बनेको 
कोर व्याख्यान थाहा थिएन ।
 

आम मान्छेहरू