Breaking News विचार

कोरोनाको अग्निपरीक्षामा नेता 

कोरोनाको अग्निपरीक्षामा नेता 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेसँगै मुलुकमा त्रासदी मच्चिएको छ । यसमा प्रधानमन्त्री ओलीको केही पनि दोष छैन । उहाँले परिस्थितिजन्य अवस्थामा प्रधानमन्त्रीका हैसियतमा गर्नुपर्ने जिम्मेवारी र दायित्व मात्र निर्वाह गर्नुभएको हो । 

कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण हुनसक्ने भन्दै जुन घोषणा प्रधानमन्त्रीले गर्नुभयो त्यसले पहिलेबाटै सशंकित रहेका जनतालाई झन बल पुग्यो । नेपालमा कोरोना संक्रमण छ कि भन्ने आशंकामा रहेकाहरुलाई साँच्चै आइ पो हाल्यो कि भन्ने भ्रम पैदा गर्यो । 

फलस्वरुप सरकारले भीडमा नजानुहोस भन्यो तर विमानस्थल, बसपार्क र सार्वजनिक चोकहरुमा सबैभन्दा बढी भीड देखियो । विद्यालय, कलेज लगायत अत्यावश्यकबाहेकका सेवा बन्द गरेपछि काठमाडौंमा किन बसिरहने भन्ने सोच पलायो । सबै आ–आफना झिटिझिम्टा बोकेर बसपार्कतर्फ लागे कोही एयरपोर्टतर्फ । 

अझ हवाइ सेवा तथा लामो दुरीका सवारी नचल्ने घोषणाले चैत ८ र ९ गते भित्र आ–आफनो गन्तव्यमा नपुगी नहुने दवाव सर्वसाधारणमा पर्यो । सुरुमा केही पनि हुँदैन, आत्तिनु पर्दैन, कोरोनाका एक जना पनि विरामी छैनन् भन्ने सरकारले एकाएक अघोषित ‘लक डाउन’ गरेपछि परिस्थिति चौपट भयो । 

बसपार्कमा होस वा विमानस्थलमा यात्रु ठगिएका समाचार एकपछि अर्को गरी आइरहेका छन् । अझ एयरलाइन्सहरुले दोब्बर तेब्बर भाडा असुलेको पुष्टि नै भैसक्यो । सामान्य ५ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँमा बेचेर कालोबजारी गर्यो भनी साधारण पसलमा छापा मारेर ढोल पिट्ने सरकारले अहिलेसम्म टिकटमा खुलेआम ब्रम्हलुट मच्चाउने कुन एयरलाइन्सलाई कारवाही गर्यो थाहा छैन । 

अझ अचच्मलाग्दो त यो बेला नेताहरुका व्यवहार देखिएका छन् । मुलुक र जनता गम्भीर संकटमा परेकाबेला दैनिक भेटघाट बन्द भन्दै कसरी दुलोमा लुक्न सकेका होलान् ? जतिबेला सर्वसाधारणले उनीहरुको साथ खोजेका छन् त्यो बेला कोरोनाको बाहनामा दैनिक भेटघाट बन्द भन्दै लुक्न मिल्छ ? उनीहरुलाई आफनो ज्यान कति प्यारो लागेको ? 

राजनीति चाहिं देश र जनताका नाममा गर्ने अनि त्यही जनता र देशमाथि संकट आउँदा भाग्ने ? मुलुक गम्भीर संकटमा रहेकाबेला उनीहरुले आफनो दायित्व सम्झिनु पर्दैन ? 

यदि नेपालका नेताहरुलाई आफनो दायित्व थाहा छैन भने नजिकैको छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङबाट सिके हुन्छ । चीन कोरोना संक्रमणबाट थलिएकोबेला राष्ट्रपति सी अनवरत जनताको साथमा रहे । बिभिन्न अस्पताल पुगेर अहोरात्र उपचारमा खटिएका चिकित्सकहरुको हौसला बढाए । कोरोनाको औषधि पत्ता लगाउन अनुसन्धानमा खटिएका बैज्ञानिकहरुसंग निरन्तर भेट गरिरहे । उनीहरुको कामको प्रगति विवरण बुझिरहे । अनुसन्धानका लागि प्रेरित गरिरहे । 

यति मात्र होइन राष्ट्रपति सीले मुखमा मास्क लगाएरै भएपनि अस्पताल पुगेर विरामीलाई ढाडस दिन कहिल्यै छोडेनन् ।  कोरोनाको मुहान भनिएको वुहानमा पुगेर उनले चीनमा कोरोना संक्रमण समाप्त भएको सन्देश पनि दिए । 

चीनमा कोरोना संक्रमणको अन्त्य त्यसै भएको होइन । त्यहाँ सी जस्ता नेता छन् र त्यो सम्भव भएको हो । हाम्रा नेताहरुले जस्तो दैैनिक भेटघाट बन्द भन्दै सचिवालयलाई विज्ञप्ती लेख्न लगाएर लुकेको भए कोरोनामाथिको लडाँईं सम्भव थिएन । आज सी नेतृत्वको चीनले इटाली, स्पेन लगायतका देशलाई मात्र होइन जोखिमको खतरामा रहेको नेपाललाई पनि सहयोग गरिरहेको छ । 

प्रधानमन्त्री ओली त मिर्गौला प्रत्यारोपणपछि आराममा हुनुहुन्छ, उहाँलाई केही भन्न मिलेन । तैपनि उहाँले जति गर्नुभएको छ, त्यो काफी छ । उहाँको प्रयास सराहनिय देखिन्छ । तर, उहाँकै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ हुनुहुुन्छ  ? विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कता हुनुहुन्छ ?

कि प्रचण्ड र देउवाले आफूलाई ‘सेल्फ क्वारेन्टाइन’ मा रहेको जानकारी दिनुपर्यो होइन भने मुलुकमाथि आइपरेको संकट समाधानका लागि भूमिका खेल्नुपर्यो । आ–आफनो दरवारमा बसेर जनताको पीडा हेरेर बस्ने छुट कसैलाई छैन । 

प्रचण्ड, देउवा मात्र होइन सबै दलका नेताहरु अहिले कोरोनाको गम्भीर अग्निपरीक्षामा छन् । उनीहरुका गतिविधिलाई जनताले नजिकबाट हेरिरहेका छन् । एक किसिमले भन्ने हो भने नेताहरुलाई चिन्ने यो उपयुक्त अवसर हो । 

फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा कोरोनाबाट कसरी बच्ने भन्ने दुई चारवटा टिप्स लेखेर शेयर गर्दैमा नेताहरुको दायित्व पूरा हुँदैन । अहिले एकथरी नेताहरुले सामाजिक संजालमा कोरोनाविरुद्ध चेतना भन्दै आफनो प्रचार आफै गरेको देखिन्छ । यति चिज गरेर आफनो प्रमुख दायित्वबाट उनीहरु पन्छिन खोजेका हुन कि भन्ने मेरो शंका छ ।

यतिबेला अस्पतालमा चिकित्सक एवम स्वास्थ्यकर्मी जो जोखिम मोलेर काम गरिरहेका छन् उनीहरुलाई हौसलाको खाँचो छ । अत्यावश्यक सेवामा जुटिरहेका कर्मचारीको मनमा डर छैन ? उनीहरुको घर परिवार छैन ? उनीहरुलाई होस्टेमा हैंसे भनेर सघाउने, मनोबल थप्ने कसले ? 

सेना, प्रहरी, संचारकर्मी, अस्पताल, औषधि पसल, खाद्यान्नका पसल, सरकारी कर्मचारी यीनको मनोबल बढाउनु पर्दैन ? अत्यावश्यक सेवामा पर्छन् भनेर यीनिहरुमाथि लापरवाही गर्न मिल्छ ? 

टेकु अस्पतालमा जनशक्ति, पूर्वाधार, त्यहाँका कर्मचारीको मनोबलको बारेमा बुझने काम भनेको स्वास्थ्य मन्त्रीको मात्र हो ? उनीहरु कुन अवस्थामा काम गरिरहेका छन् । यसो कोही नेता वा जिम्मेवार व्यक्ति त्यहाँ पुग्दा, उनीहरुको हालखवर सोध्दा नराम्रो त पक्कै हुँदैन होला नी  ?

देशभरका संचारगृहमा कसरी काम भैरहेको छ ? सरसफाइ र सचेतनाका उपाय अवलम्बन गरिएको छ कि छैन भनेर संचार मन्त्री वा दलकै नेताहरु पनि अवलोकनका लागि जानु अनिवार्य छ । यसले जोखिममा काम गरिरहेको मानिसको आत्मबल पनि बढाउँछ । आत्मबल नभए कसरी काम गर्ने ?

बसपार्क, विमानस्थल लगायत मुख्य चोकहरुमा घर जानेहरुको भीड छ । त्यहाँ भाडामा ब्रम्हलुट छ । यो देशको यातायात मन्त्री वा भनौ दलको कोही नेताको घैंटोमा घाम लागेको छैन । यातायात मन्त्री वा उनको संयन्त्र ती ठाउँमा पुग्नु पर्दैन ? 

चीनका राष्ट्रपति सी जिनपिङसंग नसिके पनि आफनै देशका आपूर्ती मन्त्री लेखराज भट्टसंग सिक्दा पनि हुन्छ । उनको खटाइले मात्र सरकार छ भन्ने कुराको आभाष हुन्छ । 

अचम्म लाग्छ स्थानीय तहदेखि केन्द्रसम्म नेता र मन्त्रीका व्यवहार उटपटाङे मात्र छन् । कोही विरामीको दाँत ठेलेर दन्त शिविर उद्घाटन गर्छन्, कोही दर्जनौ नेता जम्मा भएर सवारी साधनको नियम उद्घाटन गर्छन्, कोही पीर्कामा चढेर सलामी लिन्छन्, चुनावमा बेला हजारौं हजार टी सर्ट र झण्डा छपाउँछन्, तर मुलुकलाई परेकाबेला दैनिक भेटघाट बन्द भन्दै लाज पचाएर मुन्टो लुकाउँछन् । 

यो बेला सामान्य एउटा मास्क वितरण गर्न किन कोही नेता, व्यापारी, गैर सरकारी संस्था, र समाजसेवी देखिएनन् ? अरुबेला देश र जनता भन्दै चटक गर्नेहरु को कहाँ लुके ? 

दिनभर काम गरेर साँझ घर परिवारको मुखमा माड लगाउने मजदुरले अब के गर्ने ? किन कसैले निःशुल्क वा सहुलियत दरमा भोजनको व्यवस्था गराउन सकेनन् ? 

कतिपयले त यही हो मौका भन्दै लुट मच्चाइरहेका छन् । सरकारले पनि कमजोरलाई मात्र कारवाही गरेको देखियो । सक्ने भए टिकटमा लुट मच्चाउने एयरलाईन्सलाई कारवाही गर्न सक्नुपर्छ ।