कला साहित्य

परिवर्तनको संवाहक सम्प्रभु

परिवर्तनको संवाहक सम्प्रभु

शम्भु अर्याल (स्याङ्जा)

सरकारी कार्यलयको उद्घाटनका लागि मास जुटिरहेको थियो । १२बजे उपस्थितिको लागि निमन्त्रणा फेसबुकमा केही दिनदेखि नै सार्वजनिक  भैसकेको थियो । कला, साहित्य ,राजनीति र समारोहमा निमन्त्रणा भन्दा  वोधको जिम्मेवारी वहन गर्छु म । कसले कसलाई बोलाउने हो ?कसले कसलाई निमन्त्रणा गर्ने हो रु हामी सबैको साझा दायित्व,साझा अभियान । साझा गन्तव्यमा आव्हानको बोझ भन्दा स्वस्फूर्त उपस्थितको कर्तव्यले निकट हुन मन लाग्छ मलाई कर्तव्यमा ।

तिनै भिडबाट मेरो मनमा लागेका विचार छिरलिएको विस्कुनजस्तै उपस्थित हुन पुग्छ । दर्शकदिर्घाको तृष्णामय पर्खाइमा मन्त्रीज्युको आगमन भयो । जसरी तिर्खाउछ मरूभुमीको श्रमिक । मुल नभएको ठाडो उकालोमा बैशाख मैनाको यात्रि र चर्को नुन खाएको खरो तिर्खा । दुई बजे मन्त्री ज्यु पेट्रोल पम्पको उकालो बाटो पार गर्दै  मालपोतनेर वाहन विश्राम गर्नुभयो । तमाम भिड र शुभचिन्तक आम मान्छे माला र खादा सहित लामबध्द स्वागतको लागि उभिइ रहेका थिए । आम जमातको सबैभन्दा मूर्ख मान्छे म स्वयं पनि त्यसरी नै पर्खिइरहेको थिएँ । मन्त्रीज्यु तामझामका साथ वर्लिनुभयो । टक्क खडा हुनुभयो । लाइनबाट एकजनाले दुबोको माला लगाइदिनुभयो । जसरी लगाउछन् विवाहमा माला वर र बधुले । 

फेरि लाइनबाट क्रमशः माला थाप्दै अगाडि मञ्चसम्म पुग्नुभयो । फरक यत्ति भयो । विवाहमा एउटा मात्र लगाउछन् ।आज उद्घाटनको दिन घाँटीमा अटेन । केही थान हातमा लिनुभयो र नअटेको मालाको लागि डोला खोज्नुभयो जसरी बोकिन्थ्यो डोला हाम्रा बा को पालामा । सकारात्मक शब्दको अगाडि जोडिएको न न पढ्न मन पर्छ न हेर्न । न त सिको गर्न नै । आजको दिन प्राप्तिको लागि कति अवरोध विरोध बन्द हडताल जुलुस के भएन देशमा ? द्वन्दात्मक भौतिकवादको परिभाषा कस्तो हुन्छ ? सकारात्मकताको लागि शोंच राख्दा राख्दै बा हरूको अवसान भयो । परिवर्तनको सच्चा अडानमा भाइ मर्यो । शिक्षक काटियो । मान्छेले मान्छेलाई काटेर आलो घाउमा नुनचुक घस्रिदाको पीडा सम्झन्छु । जिउँदै इटा भट्टिमा धकेलिएकाहरूको चीत्कार र रोदन हिरोसिमा र नागासाकीमा जल्नेहरूको भन्दा  कम  काहालीलाग्दो कहाँ रह्यो होला र ?

निकै एकोहोरिन्छु, जल समाधी लिएका योगमायाहरू सम्झन्छु ।अहो ! परिवर्तनको लागि मान्छेमा कत्रो विद्रोह ? आफ्नै जिन्दगीको माया मारेर माटोको लागि मृत्यु वहन गरेको घतलाग्दो साहदात ती कर्मशिल मनुष्य ,चोटिला घाइते तस्बिरको परिणाममा प्राप्त विकलांग अनुहारहरूको प्राप्ति। निमुखो उपलब्धिको खल्लो अनुभव र निस्तो गललाग्दो तृप्तता । विगतको मरुभूमिको कठिन परिश्रम सम्झिन्छु तपतपि खसेका पसिना बालुवामा सोसिएको संसृष्ट पसिनाको मुल्यले आलोकित हुन्छु ।  झार नहुने ठाउँका नागरिकले पाएको सेवा र सुविधाले उद्वेलित हुन्छु । सेख शासन र प्रजातान्त्रिक लोकतन्त्रले प्राप्ति गरेको मीमांसा बिचको भिन्नता छुट्याउन निकै घोरिन्छु, निस्पृह हुन्छु ।

राजाको देशमा आफ्ना नगरिकको खुशी र सुविधाको लागि बाहिरबाट किनेर ल्याएको श्रमिकको श्रम , कहाँ अनुर्वर चरा खस्ने रापिलो गर्मीमा एयर कण्डिसनको नि:शुल्क आराम र सुविधा लिइरहेका आम मान्छेहरू । शिक्षा ,स्वास्थ र आवासमा सरकार छ । मेरो देश खोल्सै खोल्साबाट फुटिरहेको मूल । बेसीबाट बगिरहेका नदी र खोलाहरू । आँखै अगाडिको पहाडमा घाम लागिरहेको छ पछाडि वादल लागिरहेको छ । दायाँ पानी परिरहेको छ । बायाँ हुरी चलिरहेको छ । शिरमा सुन टल्कीरहेको छ । बनमा साल दार पसेर पनि धोद्रो लागि सक्यो । सेपेआनले पोथ्रा बढ्न सकेको छैन । यति कोइला खानी । उति तामा खानी । यतिटन युरानियम । टनका टन फलाम । अनन्य खानी ।अगाडिको हिमाल हेरेर औंला भाँच्दै बसिरहेका बोक्रे भलाद्मी जस्तै लागिरहेको छ । कहाँ खजुरको बोटको छहरीमा शेख शासन र कहाँ अलिकति माटो उवाएर गमलामा राखे भूमि नछोएरपनि हुर्कने उर्वरतामा हजारौं हजार मान्छेको अवसानबाट प्राप्त प्रजातान्त्रिक लोकतन्त्र ।

 मलाई लाग्छ। खाडी क्षितिजसम्म टलपल पानी  भरिएर पनि गति नभएको स्थिर ताल र उल्टो बगिरहेको छाल । मुखमा हाले घाँटी खिइर्र्याउने चर्को पानी । बहन नसकेर हुपहुपी उखर्माइ रहेको र्यापर्यापदो उखर्माउलो गर्मी । सुख्खा निकर बालुवामा बीउ परेपछि सुकेर जाने पतनस्मृतिको कठोर मतृ वात्सल्य । पानी ,माटो ,वायु अग्नि सबै पक्का स्थिर । तर पनि हुकुमले मार्कसवादि चिन्तन बोक्यो । सिध्दान्तलाई ब्यवहारमा उतार्यो बगरको बालुवालाई सौर्यमण्डलका ग्रह , उपग्रह, तारा,  पिण्ड जस्तै चलायमान देख्यो। 

आफुसँग भएको बेच्न र नभएको किन्न धक मानेन । उसले वरालो लागेको निकै रफ्तारले बगिरहेको जलमा स्वस्फूर्त ध्रुव सत्य उर्जा भन्दा  उकालो छाल हानीरहेको ज्वारभाटामा पनि उर्जा खोज्यो। उसले दम्भ पढेन गर्व पढ्यो । उ भुइमा बस्यो र मान्छेलाई  कुर्सीमा राख्यो । मान्छेलाई मानव कस्ले बनायो रु कसले भन्छ शेख नायक होईन भनेर रु अनि कस्ले भन्छ रु कम्युनिस्ट नायकमा मार्कसवादको शिध्दान्त लागू भईरहेको छ । लाखे नाचको खुशीमा टिकट किनेर पर्खिइ रहेका आम भुइँमान्छेहरू र लाखेको मकुण्डो जस्तै भुइको नाममा मञ्च बेचिरहेका मार्कसवादी दुई तिहाइ ब्यापारीहरूको भिडमभिड । बहुमतको पेट पाल्न उद्योग चलाइरहेका अतिरिक्त मुल्यका मालिकहरू ।

खै कसले बुझिरहेको छ ? ती थपडि मारिरहेका पंजाभित्र ठेलाहरू छन् । फोका फुटेर चहराई रहेका छट्पटीहरू छन् । खरको झुप्रा भित्र टुकी र दियो बोली नै रहेका छन् । दिनभरको काम बिताएर आफ्ना आदरणीय कामरेडहरूलाई स्वागत गर्न पर्खिरहँदा पिंढिमा भोकभोकै रुँदै पर्खिरहेका आँखाको कोस मुनि खत बसेका नानी बाबुहरू छन् । एउटा ज्यामी को दिनभरीको पसिना छ । एउटा ड्राइभरको दिनभरको आम्दानी छ । एउटा घरको दिनभरको अभिभावक छ । दिनभरिको एउटा मेलो छ । सहिदको रातो रगतले सिंचित शोकाकुल जननीको नियास्रो काख छ । पुरै जीवन रङ्गिन वस्त्रबाट बिमुख लुटिएकी दिदी , बहिनी आमा र सङ्गिनीको रङ्गहीन एलबम छ । एलबमका पानाहरू पल्टाउँदै ड्वाँड्वाँति रोइरहेको भक्कानिएका साथिभाइ र आफन्तहरू छन् ।

निकै एकोहोरिएँछु । मञ्चबाट उद्घोष भयो मन्त्रीज्यूलाई  द्विप प्रजलन गरि रिबन काटेर नापी कार्यलय भवनको उद्घाटन गरिदिन । मञ्चमा द्वीप प्रज्वल भयो । सभाको लागि । सयमिटरको दूरीमा रहेको भवन प्रमुख द्वारलाई अवरोध गरेर रिबन बाँधिएको थियो । मन्त्री ज्यु अघि अघि लम्किनु भयो । पर्खिनेहरू पछि पछि ठेलामठेल थियो । भेड्किनेको मेला थियो । गन्तव्यमा कोही उभिइरहेको थियो कैँची लिएर । ट्याप्प कैँची समाउनु भयो र च्वाट्ट काटिदिनुभयो रिबन । रिबन फ्यात्त भुँइमा लतारीयो । जसरी क्रेतालाई नापेर काटिदिन्छ रिबन बिक्रेताले । अनि कर्मचारीहरू प्रवेश गरे भवनमा । यथार्थमा दुई मैना देखि सेवा सुविधा लिई सकेका थिए सेवग्राहीले उक्त भवनबाट । आज भवनको  उद्धघाटन छ । कोठाहरूका किनारा  र कर्पेटको बिट नमिलेर  कार्पेटको जडान नजानेको हजामले काटेको कपालजस्तै बाङ्गाा टिङ्गा धर्षाहरू थिए ।  । सिक्दै गरेको सिकारू चित्रकारको दुरुस्त  आउन नसकेको तस्वीर र गुँदले जमाएको  च्यातिएको रफ कापीजस्तो ।

उहि पुरानो ढर्रा र सुगा रटानको भाषा । वाद प्रतिवाद बाट अपभ्रम्स बनेको अल्नो  संस्लेषण । बर्ग संघर्षको बुर्जुवा प्रवृत्ति। श्रमिकहरूको बर्गचेतनाको संगठितआक्रोशबाट प्राप्त लुचो आचरण । दिनभर शासन , आसन , र भाषण ग्रहणको दिगदिगी । बिलखमन्न पर्छु । धैर्यता टुट्नु सिद्धान्त विमुख हुनु हो । सोंच्छु एउटा फर्सीको मुन्टा चुँडिदा सैयौं मुन्टाहरू पलाइदिन्छन् । जरा उसको माटो हो । पलाउनु उसको सिद्धान्त हो । लहरिनु उसको कर्म हो । अबको समय काम गर्ने समय हो । अधिकार हामीले प्राप्त गरिसकेका छौं । अब हामी सबैको कर्तब्यको जिम्मेवारी आएको छ । हामी हाम्रा विचार राख्न स्वतन्त्र छौं । अबको खोज हाम्रो विचारलाई ब्यवहारमा उतार्ने हुनुपर्छ । 

हामीसँग भएको साधन स्रोतको बिक्री र नभएको खरिद हुनुपर्छ । हाम्रा नागरिकहरू श्रमिक होइन ब्यापारी बनुन् । हाम्रा विद्यार्थी  डिग्री पास गरेर नोकर होइन बिजनेसम्यान बन्न चाहन्छन् । हरेक क्षेत्रमा डिग्री पासको प्रमाणपत्र बेच्न होइन आफुले हासिल गरेको सिद्धान्तलाई  ब्यवहारमा परिक्षण गर्न चाहन्छन् । उनिहरूको लक्ष्य विज्ञान हो, उनिहरूलाइ पर्खाल नबाँध , बाटो नछेक । उनिहरू अप्रमाणित मार्गदर्शक भन्दा प्रमाणित मार्गदर्शन खोजिरहेका छन् । जो उनिहरू सिकेर आइसकेका छन् । बस्  परिवर्तनको 'संवाहक संप्रभु' मार्फत उनिहरूले वातावरणको मात्र अपेक्षा गरेका छन् । बनेका गोरेटोमा विस्तार उनिहरूको माग हो । उमेरमै उनिहरूसँग जाँगर छ । जोस पनि छ ,सह यात्रीको आग्रह संवाहक सम्प्रभुता माथि यत्ति प्रसादको अपेक्षा गरिरहेका छन् संस्लेषण हिमायतीहरू ।

परिवर्तन संवाहक सम्प्रभु