समाचार

कञ्चनपुरमा ६३ वर्षीय श्रीमानले गरे श्रीमतीको हत्या

कञ्चनपुरमा ६३ वर्षीय श्रीमानले गरे श्रीमतीको हत्या

महेन्द्रनगरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा लाठी प्रहारबाट श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार पुनर्वास नगरपालिका–८ ‘क’ गाउँमा ६३ वर्षीय श्रीमान् सफली बयाडीले आफ्नै ६० वर्षीया पत्नी खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेका हुन् ।

मदिरा सेवनले लट्ठ भएका सफलीले आइतबार राति ९ बजे तिर श्रीमतीसँग विवाद गरी टाउकोमा लाठी प्रहार गरेर घाइते बनाएको बुहारी बाटु बयाडीले बताइन् । श्रीमानको कुटाइबाट घाइते भएकीकि खन्जरीलाई उपचारको लागि पुनर्वासकै स्थानीय पोलिक्लिनिकमा लगिएको अवस्था गम्भीर देखिएपछि धनगढी रेफर गरिएको थियो । धनगढीमा पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगन्ज रेफर गरिएको थियो । 

नेपालगन्जबाट अस्पतालले डिस्चार्ज गरेपछि घर ल्याउँदै गर्दा खन्जरीको बाटोमा मृत्यु भएको मृतककी बुहारीले जानकारी दिइन् । घटनापछि प्रहरीले श्रीमान सफलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिहले जानकारी दिए । 

मृतकको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर हत्या