विचार

बिग्रिएका नेता

बिग्रिएका नेता

मलाई अचेल यस्तो लाग्न थालेको छ–‘ अगाडि जो पनि राम्रो, मुख पछाडी सबै वैरी ।’

एउटा प्रमुख राजनीतिक दलको नेता बोलीमा पक्का छैन । सामान्य भन्दा सामान्य कुरामा पनि झूठ बोल्छ, धोका दिन्छ । तर, भेट हुँदा बर्षौदेखिको घनिष्ट सम्बन्ध जस्तो नाटक गर्छ । मीठो बोल्छ, व्यक्तिगत, पारिवारिक हालखबर सोध्छ । जसै उसको काम सकिन्छ, त्यसपछि उसले चिन्न छोड्छ । 

यी नेताको अनुहार भनेको मेरो देशको प्रतिविम्ब हो । यीनको व्यवहारमा मेरो देशको भविश्य छ । देश यीनैले चलाउँछन् । कोही हिजो मन्त्री भए, कोही आज छन्, कोही भोलि होलान् । मन्त्री नभएपनि आफनो शक्ति अनुसारको हैसियत पार्टीमा पाएकै छन् । अझ, राजनीति त जनताको सेवाको लागि हो । यीनिहरु त नम्र, बचनको पक्का र सरल हुनुपर्ने हो । 

यो वा त्यो पार्टी भन्ने छैन । नेपालका नेताहरु नेता जस्ता छैनन् । केही आश लाग्दा अनुहारमा पनि स्वार्थका विम्बहरु देखिन थालेका छन् । जो मान्छे बोली बचनमा अडिन सक्दैन, त्यो नेता हुनै सक्दैन । मेरो साधारण भाषामा भन्ने हो भने त्यो ‘फ्रड’ हो, हामी नेता मान्न बाध्य छौं । 

आफूबाहेक अरु सबै दोस्रो वर्गका ठान्ने सोच अधिकांश नेताहरुमा छ । अझ दुई पैसा आर्जन गरेर चिल्लो कोट र गाडी नै व्यवस्था गरेको छ भने त उसको भूँइमा खुट्टा नै हुन्न । दुई मिनेट बस्यो भने उसले संसार नै आफूले चलाइरहेको गफ हाँक्छ । 

आफनो पार्टीमा सबथोक आफनै योजनामा भैरहेको रवाफ लगाउँछ । कोही कोही त भारत, चीन, युरोप, अमेरिकातीरको सबथोक मिलाउने आफै हुँ भन्ने शैलीमा पनि प्रस्तुत हुन्छन् । 

यीनका बकम्फुसे गफ हामीले सुन्नु र सुनाउनुपर्छ, देखाउनुपर्छ । यसो गर्नु हाम्रो पनि खेती हो । खेती नगरे बाली लाग्दैन, बाली नलागे खाने के ? 

धेरैले भन्छन् अरु पनि नेताहरु छन् । समाजमा देखाउने र सुनाउने अरु थुप्रै विषय र पात्र पनि छन् । त्यो सही हो । त्यो पनि गरिन्छ र गर्नुपर्छ । तर, सत्य के हो भने जिम्मेवार पदमा बसेको मान्छेको दायित्व फरक हुन्छ । 

नेता शब्द आफैमा एउटा पद हो । उसको विशेष जिम्मेवारी र दायित्व हुन्छ । अधिकांश नेताहरुमा यो सत्यवोध भएजस्तो लाग्दैन । मैले जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट उनीहरु ग्रसित छन् । 

हाम्रो बाध्यता के हो भने यो सब हामीले शहन गर्नुपरेको छ । कुनै न कुनै साङ्लोमा त्यो नेतासँग हामीपनि बाँधिएका छौं । विरोध गरौं भोलि खैरेत छैन, मौन बसौं घुटन मात्र हुन्छ । एक किसिमले भन्ने हो भने नेताहरुले हामीलाई ‘डिप्रेसन’ मा लगेका छन् । 

कतिपयले भन्न सक्छन् नेताप्रति वितृष्णा जगाउन खोजियो । जोसंग आश हुन्छ, गुनासो हुने त्यहीं हो । जो सबैभन्दा बढी पारदर्शी, जवाफदेही र इमान्दार हुनुपर्ने हो, त्यही ठीक उल्टो भएपछि चित्त दुख्नु स्वभाविक हो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि यसैका लागि होइन र ? 

नेताहरुले आफनो व्यवहार मात्र सुधारे पुग्छ । बोलीमा अडे पुग्छ । सक्ने काम सक्छु भन्ने र गरेर देखाउने । नसक्ने कुरा स्पष्ट शब्दमा सक्दिन भन्ने । 

नेताहरु सर्वसाधारणको पहुँचमा हुनुपर्छ । यहाँ त फोनसमेत उठाउँदैनन् । एउटा नेतासंग कुरा गर्न त्यसअघि अन्य चार पाँज जनासंग कुरा गर्नुपर्ने परिस्थिति छ । झुक्किएर सम्र्पक भएछ भनेपनि उसको स्वरमा दम्भ झल्किन्छ । सकभर कुरा गर्नु नपरोस भन्ने हिसाबले उ बोलिरहेको हुन्छ । 

नेताले नागरिकका कुरा सुन्ने र त्यसलाई टुंगोमा पुर्याउने भन्ने कुरा अब कल्पना जस्तो मात्र हुन थालेको छ । सामुन्नेमा जे पनि हुन्छ भन्ने त्यसपछि गर्न नपर्ने, यो नयाँ सिद्धान्तको प्रतिपादन नेपाली नेताहरुले गरेका छन् । मुख्यः समस्या यही ‘हुन्छ’ मै छ । 

सामुन्नेमा जे पनि ‘हुन्छ’ भन्ने तर केही पनि नगर्ने रोग अहिलेको कोरोना संक्रमण भन्दा बढी खतरनाक छ । जसलाई ‘हुन्छ’ भन्छन् त्यसैलाई वैरी ठानेर सिध्याउने हिसाबले उनीहरुले व्यवहार गरेको देखिन्छ । 

यस्तै कारणले अचेल लाग्न थालेको छ, ‘ अगाडि जो पनि राम्रो, मुख पछाडी सबै वैरी । ’