विदेश

श्रीमानलाई कोरोना लागेपछि ‘क्‍वारेन्टाइन’बाट भागिन् श्रीमती, घर पुगेर खेलिन् होली!

श्रीमानलाई कोरोना लागेपछि ‘क्‍वारेन्टाइन’बाट भागिन् श्रीमती, घर पुगेर खेलिन् होली!

भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि ‘क्वारेन्टाइन’मा रहँदै आएकी उनकी श्रीमती त्यहाँबाट भागेकी छन् ।

शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि सरकारले उनको खोजी गरेको थियो । बेंग्लुरुबाट उनी जहाजबाटै दिल्ली र रेलबाट आग्रा पुगेको बताइएको छ । साथै उनले अभिभावकसँग होली समेत मनाएको भेटिएको हो ।

२५ वर्षीया ती महिलालाई सरोजिनी नैदु मेडिकल कलेजस्थित आइसोलेसन वार्डमा लगी परीक्षण गरिएको छ । तर परीक्षणको रिपोर्ट सार्वजनिक भइसकेको छैन । साथै रेलवे अधिकारीहरुले उनका बावु र बहिनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् ।

गुगलका कर्मचारी रहेका उनका पति र ती महिला हालै इटलीबाट हनिमुन मनाएर फर्किएका थिए । उनका पतिलाई कोरोना संक्रमण पुष्टि भएपछि बेंग्लुरु अस्पतालमा लगिएको छ । श्रीमानलाई पनि संक्रमण देखिएको थाहा पाएपछि ती महिला क्वारेन्टाइनबाटै भागेकी हुन् ।

भारतमा ८० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । तर दुईजनाको मृत्यु भइसकेको छ । दिल्लीमा एक ६८ वर्षीया महिला र उत्तर कर्नटकामा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका अधिकांश देशमा फैलिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

भारत कोरोना भाइरस क्वारेन्टाइन