खेल

इस्टर्न रिजन टी–२०ः हङकङद्वारा नेपाललाई १५५ रनको लक्ष्य

इस्टर्न रिजन टी–२०ः हङकङद्वारा नेपाललाई १५५ रनको लक्ष्य

काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कपमा हङकङले नेपाली टीमलाई १ सय ५५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि निजाकत खान मोहम्मदले ४८, मोहम्मद ऐजाज खानले २९, हारुन मोहम्मद अरशदले २७, शाहिद वसिफले २६ र जेम्स जोन एटकिन्सन १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपाली टीमका सन्दीप लामिछाने, सुशन भारीले २–२ र कुसल मल्लले एक विकेट लिए ।

जारी प्रतियोगितामा हङकङको यो पहिलो म्याच हो । पहिलो खेल हारेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न नेपाल आज जित्नै पर्ने दबाबमा छ । एसिया कप छनौटमा पुग्न शीर्ष दुईमा पर्नुपर्ने भएकाले आज पनि पराजित भए नेपालको संभावना झिनो र गणितीय मात्रै बाँकी रहनेछ । हङकङविरुद्ध पनि नेपाली टीमले मलेसियासँग खेलेकै प्लेइङ ११ मा उतारेको छ ।

आज पनि भुवन कार्की, सन्दीप जोरा र किशोर महतोले प्लेइङ ११ मा मौका पाउन असफल भएका छन् । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

हङकङविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी, पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र सुशन भारी ।

बेन्चः सन्दीप जोरा, भुवन कार्की र किशोर महतो ।

इस्टर्न रिजन कप हङकङविरुद्ध नेपाल