खेल

इस्टर्न रिजन कपः हङकङविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

इस्टर्न रिजन कपः हङकङविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार बिहान ८ः१५ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपालले आज हङकङलाई हाराउँदै लय समात्न चाहेको छ ।

जारी प्रतियोगितामा हङकङको भने यो पहिलो म्याच हो । पछिल्लो समय तुलानात्मक रुपमा नेपालभन्दा हङकङ कमजोर भएको देखिन्छ । उसका महत्वपूर्ण खेलाडी अंशुमन रथ र बाबर हयात टोलीमा छैनन् । तथापि नेपाललाई चुनौती दिनसक्ने खेलाडी हङकङसँग अझै छन् । किन्चित शाह, अजिज खान, निजाकत खान र हारुन अरशद हङकङ टीमका बलिया हतियार हुन् । पछिल्लो तीन टी–२० मा हङकङविरुद्ध नेपालले एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । 

पहिलो खेल हारेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न नेपाल आज जित्नै पर्ने दबाबमा छ । एसिया कप छनौटमा पुग्न शीर्ष दुईमा  पर्नुपर्ने भएकाले आज पनि पराजित भए नेपालको संभावना झिनो र गणितीय मात्रै बाँकी रहनेछ ।

प्रतियोगिता अन्तर्गत आजै दिउँसो हुने अर्को खेलमा मलेसिया र थाइल्याण्ड भिड्ने छन् । पहिलो खेलमा नेपाललाई हराएको मलेसिया अपराजित यात्रा कायम राख्ने दाउमा छ भने थाइल्याण्ड पनि घरेलु मैदानमा पहिलो जितको खोजीमा रहनेछ ।   

हङकङविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी (विकेटकीपर) पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र भुवन कार्की ।

सम्भावित बेन्चः सन्दीप जोरा, सुशन भारी र किशोर महतो ।

एसीसी इस्टर्न रिजन कप हङकङविरुद्ध नेपाल