समाचार

गोरखामा जिप दुर्घटनाः ११ घाइते, ४ जनाको अवस्था गम्भीर

गोरखामा जिप दुर्घटनाः ११ घाइते, ४ जनाको अवस्था गम्भीर

गोरखाः जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा सोमबार बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिप सडकबाट करिब ५० मिटर पछाडि खसेको गुरुङले बताए । ‘घाइतेमध्ये दुई जनाको दातसमेत झरेको अवस्था छ, घटनालगत्तै प्रहरीसमेत घटनास्थलमा आइपुगिसकेको छ’ उनले भने ।  

बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी ६ वर्षीया सुनिता गुरुङ, ७३ वर्षीया सुकमाया गुरुङ, सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको प्रहरी प्रमुख सुकबहादुर विकले जानकारी दिए । 

घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । (फाइल फोटो)

गोरखा जिप दुर्घटना