समाचार

मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा २ युवकको मृत्यु

मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा २ युवकको मृत्यु

सप्तरीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा सोमबार मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ का २६ वर्षीय प्रकाश चौधरी र त्यही मोटरसाइकलमा पछाडि बसेका कृष्णाशवरण गाउँपालिका–६ का २३ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरमा रहेको नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

सप्तरी पूर्व–पश्चिम राजमार्ग दुर्घटना