समाचार

सरकारले लालपुर्जा दिएको जमिन भारतमा, सर्भे टोलीप्रति स्थानीय आक्रोशित

सरकारले लालपुर्जा दिएको जमिन भारतमा, सर्भे टोलीप्रति स्थानीय आक्रोशित

कञ्चनपुरः जग्गा पाइन्छ भन्ने सुनेपछि चक्रबहादुर चन्दको परिवार ०२२ सालमा सुर्खेतबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा पुग्यो । भारतीय सीमानजिकै आठ बिघा जमिन उपभोग गर्न थाल्यो । दुई वर्षमै उनीहरूले ६ बिघाको लालपुर्जा पाए । त्यसपछि ०५२ मा नापी भयो । तीन वर्षपछि नै ०५५ मा सरकारले बाँकी दुई बिघाको पनि लालपुर्जा दियो । उनीहरूको खुसीको सीमा रहेन । 

तर, २१ वर्षपछि अहिले त्यो खुसी उड्ने हो कि भन्ने चिन्ता चन्द परिवारमा छाएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले ०५५ मा लालपुर्जा पाएको दुई बिघामध्ये झन्डै डेढ बिघा जमिन भारतमा परेको भन्दै पिलर राख्ने तयारी गरेपछि चन्द परिवारको खुसी उडेको हो । छोरा–नातिसम्म अंशबन्डा भएको जग्गा भारतमा पर्ने भनेपछि आफूहरू चिन्तामा रहेको चक्रबहादुरका छोरा मानबहादुरले बताए ।

भुडाकै चन्द्रसिंह थापाको व्यथा पनि त्यस्तै छ । सर्भे टोलीले उनको पाँच कट्ठा जग्गा भारतमा पर्ने देखाएको छ । ०२८ सालदेखि उपभोग गरेको १२ कट्ठा जग्गाको उनले ०५५ मा लालपुर्जा पाएका थिए । ‘सर्भे टोली आएर नाप्यो, हामीसँग लालपुर्जा भएको जमिन भारतको पर्‍यो भन्यो,’ चन्द्रसिंहले भने, ‘सरकारले लालपुर्जा दियो । हामीले राज्यलाई कर तिर्दै आयाैँ । अहिले त्यो जमिन अहिले कसरी भारतमा पर्‍यो ?’

संयुक्त टोलीको सर्भेपछि स्थानीय टोपबहादुर चन्द र रामफल डगौराको दर्तावाला जमिनमा पिलर गाड्न खाल्डो खनिएको छ । टोपबहादुरले दुई दशकअघि लालपुर्जा पाए पनि ०४६ सालदेखि जमिन उपभोग गर्दै आएको बताए । डगौराको एक बिघा १७ कट्ठा जमिन छ । उनको दर्तावाला जमिनमा सीमा पिलर गाड्न खाल्डो खनिएको छ । ‘हामी ०२४ सालदेखि यहाँ बस्दै आएका छौँ,’ रामफलका छोरा बलिले भने, ‘यहाँ सीमा विवाद पनि थिएन तर अहिले हाम्रो जमिन भारतमा पर्‍यो भनिँदै छ ।’

यी सबै जमिन सीमास्तम्भ ३३ र ३४ नम्बर बीच पर्छ । दुई स्तम्भको बीचमा सहायक स्तम्भ राख्न संयुक्त सीमा सर्भे टोलीले नेपालीको लालपुर्जा भएको जमिनमा खाल्डो खन्न थालेको हो । बेलौरी नगरपालिकाअन्तर्गत पर्ने यी दुई सीमा स्तम्भबीच लालपुर्जा भएका करिब ६० बिघा जमिन सर्भे टोलीले भारतमा पर्ने देखाएको वडाध्यक्ष हरिलाल चौधरीले बताए । चौधरीका अनुसार दुवै देशतर्फ स्थानीयले सीमाको रूपमा स्वीकारेको चौधर खोलाभन्दा ३० मिटर यतासम्म नेपाली भूमि भारतमा पर्ने सर्भे टोलीले बताएको छ । ‘खोलालाई सिमाना मानेकाले सीमा विवाद पनि थिएन । पारिको जमिन भारतले र वारिको हामीले प्रयोग गर्दै आएका छौँ,’ उनले भने, ‘लालपुर्जा भएको जमिनमा सीमापिलर पर्दै छ । सरकारले लालपुर्जा दिएको जमिन किन भारतमा पार्न खोजिँदै छ हामीले बुझ्न सकेका छैनौँ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
    

लालपुर्जा कञ्चनपुर चक्रबहादुर चन्द

विशेष