समाचार

सबैभन्दा गरिब प्रदेश २, गरिबी दर करिब ४८ प्रतिशत

सबैभन्दा गरिब प्रदेश २, गरिबी दर करिब ४८ प्रतिशत

जनकपुरधामः सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ ।

प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ । बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । 

मानव विकास सूचकांकमा भने पुछारमा रहेको छ । आयोगका अनुसार समग्र नेपालमा शून्य.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ । ‘यसले प्रदेश धेरै पछाडि परेको देखाउँछ’, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले भने, ‘प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर आर्थिक गरिबी घटाउने लक्ष्य लिएको छ ।’ पञ्चवर्षीय योजनाको आधारपत्रमा २७.७ प्रतिशत आर्थिक गरिबीलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

जनकपुरधाम प्रदेश २ गरिबी गरिबी दर