समाचार

ढुक्क हुनुहोस् सरकार समृद्धिको बाटोमा छः प्रधानमन्त्री ओली

ढुक्क हुनुहोस् सरकार समृद्धिको बाटोमा छः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको अवसरमा शुक्रबार यहाँ आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरे । उनले सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढिरहेको बताए । उनले भने, ‘नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ ।’ 

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गरे । वि.सं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले  भने, ‘नेपालमा कोरोना भाइरस छैन, नेपाल कोरोना भाइरसमुक्त छ, यसबाट जोगिनका लागि व्यवस्थापन गरिएको छ, डराउनुपर्ने कुनै अवस्था छैन ।’ 

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गर्नुभयो । सम्मेलनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले समेत सम्बोधन गरेका थिए । 
 

केपी शर्मा ओली समृद्धि

विशेष

ADVERTISEMENT