समाचार

लसुनको मूल्य ३ गुणा बढ्यो

लसुनको मूल्य ३ गुणा बढ्यो

काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो ।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनकोे मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मर्निभर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् । नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ । चीनसँग सीमा जोडिएको रसुवागढी (केरुङ ) र तातोपानी (खासा) नाका बन्द भएकाले विगत एक सातादेखि लसुनको आयातमा कमी आएको छ ।

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले चीनसँग जोडिएको नेपालको भन्सार नाका बन्द भएपछि लसुन आयातमा कमी आएको बताए । बजारको मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा र आयातसमेत बन्द हुँदा लसुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको उनले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार कालिमाटी बजारमा औसतमा दैनिक ४–५ टन आयात हुने लसुन विगत चार दिनयता आयात भएको छैन । समितिका अनुसार पुसमा चीनबाट २ सय ५० टन चिनियाँ लसुन आयात गरिएकामा माघमा ९८ टन मात्र आयात भएको छ । गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरलेव लेखेकी छिन।  

लसुन मूल्यवृद्धि