विदेश

जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

बेइजिङ - चिनियाँ स्वास्थ्य अधिकारीहरुले चीनका कारागारमा काेरना भइरस(काेभिड१९) काे सङ्क्रमण देखिएको बताएका छन्।  शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब चार सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो। 

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता यसकाे प्रभाव कारागारमा पनि परेकाे छ।

यो प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। 

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र दुई सय कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्। 

यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि उक्त कारगारका निर्देशकले जानकारी दिएका छन्।