विचार कभर स्टोरी

गगनचुम्बी गोकुलधाम घूमेर हेर्दा

हट गोकुल, कूल कमिसन

गगनचुम्बी गोकुलधाम घूमेर हेर्दा

माधव गुरागाईं

संचारमन्त्री गोकुल बास्कोटा भ्रष्टाचारमा आरोपी हुनुसंग मेरो भीर र भैंसीको साइनो  छैन । तर एउटा सचेत नागरिक र सञ्चार क्षेत्रमा उद्यमको अभ्यास गर्ने  जिज्ञासु पात्र भएका कारण त्यसको बाछिटा पटक पटक अनुभव गरेको छु ।  त्यसै पनि सरकारी काम एउटा प्रक्रिया हो । करोड त के केही हजारको हिसाव कितावसमेत सरकारी खातामा पेचिलो बनेर रहन्छ । पत्रकार नै नभए पनि व्यापार प्रवद्र्धनका सिलसिलामा धेरै सूचना आउँछन । त्यस्ता सूचनाहरु मैले आफ्नो सम्पादकीय टीमलाई भन्ने गरेको छु । कतिपय सूचनाबाट समाचार बन्ने गर्दछ । त्यसो त नेपालमा उद्यम बुद्धिमानी र नैतिकतापूर्वक गर्न फलामो चिउरा चपाउनुसरह छ । राज्यका निकाय उद्यममैत्री छैनन् । नयाँ सोच र सिर्जनाको कदर हुँदैन । यी भए भोगाइका विषय । तर आज मैले उल्लेख गरेका यी पंक्ति भ्रष्टाचारको चक्रव्यूहसंग सम्बन्धित छन् । यो आरोप, प्रत्यारोप नभएर फगत एउटा अनुभूति हो । बहालवाला सञ्चारमन्त्रीमाथि भ्रष्टाचारको आरोप लाग्नुले घट्नाको उत्खनन् आलो भएको पक्कै हो । जो जससंग सम्बन्धित छ, उसले त्यसैगरी यी अक्षरका भाषा बुझ्दा फरक पर्दैन । 


प्रसंग १. करिब तीन बर्षअघिको सन्दर्भ हो, अटोमोबाईल क्षेत्रमा व्यापक  कालोबजारी हुने गरेको चर्चा बजारमा आउन थालेपछि सत्य बुझ्न भन्सार विभाग गएँ ।  भन्सारमा हुने प्रज्ञापनपत्रमा हुने उल्लेख गरेको मूल्य भन्सार विभागका सूचना आधिकृतले व्यावसायिक गोपनीयता भन्दै सूचना दिन इन्कार गर्दै भने– ‘सम्बन्धित कार्यालयबाट लिनु हामीले दिन मिल्दैन ।’ भन्सार प्रशासनको सूचना त्यहाँ नपाएपछि  सम्बन्धित निकाय कुन हो, मेरो सानो मस्तिष्कले खुट्याउन सकेन । अनौपचारिक रुपमा धेरै सूचना हुने गरेको हुनाले पुष्टि गर्ने मेरो ध्येय थियो । सूचनाको हक प्रयोग गर्दै सूचना आयोगको ढाँचामा निवेदन  दिएँ ।  ‘व्यावसायिक’ कारण देखाएर मलाई पन्छाउने काम भयो ।  म सूचना खोज्दै बीरगंज र भैरहवा भन्सार कार्यालय पुगे। भैरहवा भन्सार कार्यालय प्रमुख लावण्य ढकाल म आएको सूचना पाउनासाथ बसेको आसनबाटै गायव हुनुभयो । गोप्य श्रोतबाट के पुष्टि भयो भने अटोमोबाईल त्यस्तो क्षेत्र रहेछ, जहाँ ८० प्रतिशतसम्म नाफा राखेर  कालोबजारी गर्ने छूट पाइँदो रहेछ । 


पाएको सूचनामा इमान्दार रहेर हामीले समाचार बनायौ । यस क्षेत्रमा तरङ्ग त आयो । तर छानबिन वा कार्बाही कुन चरीको नाम हो, पत्तो भएन । यही मेसोमा अटोमोबाईल व्यवसायीहरुसंग भेट्ने प्रयास गरें, तर कसैले भेट्न् चाहेनन ।  बजाज कम्पनीको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र गोल्छा एन्ड कम्पनीका मालिक शेखर गोल्छाले दसैं तिहारपछि भेट्ने तारिख दिनुभयो । तर त्यस्ता तारिख कति गुज्रिए कति । 

प्रसंग २. नेपाल टेलिकमसंग नजिक भएर काम गरियो । बजार व्यवस्थापनको विषयमा तात्कालिन प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय चिन्तित  हुनुहुन्थ्यो । मैले केही  प्रस्ताव पेस गरें । उहाँलाई उपयोगी लाग्यो । केही काम दिन थाल्नुभयो । केही समयसम्म व्यावसायिक सम्बन्ध राम्रैसंग चल्यो । विस्तारै विस्तारै लेखा प्रमुख राजेन्द्र श्रेष्ठले मेरो फाइल रोक्न थाल्नुभयो ।  लेखाका कर्मचारी एकपछि अर्को गर्दै टेढो हुँदै गए । घुमाउरो भाषामा कमिसन बुझाउनु पर्ने कुरा गर्न थाले । एकजनाले त मुख फोरेरै भने– ‘लेखा र व्यापारको भूमिका बराबर हुन्छ ।’ यस्को मतलब हो– ‘तपाईले व्यापारमा पैसा बुझाउनु भयो, लेखालाई दिनुभएन ।’ मैले गुनासो लिएर प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकक्षमा भेट्न गएँ । बिडम्बना भेट्ने कहिले समय पाइन । मानौं म टेलिकम लुट्न  यो प्रयास गरिरहेको छु । नेपाल टेलिकममा गर्न सकिने सुधार तथा सुधारको विषयमा कुरा गर्ने मेरो अभिलाषा त्यतिक्कै सेलायो । यो क्रम अहिलेका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसम्म जारी राखेको छु । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक नियुक्त हुने बेला  नै भ्रष्टाचार हुने गरेको चर्चा हुने गर्दछ । भनिन्छ, प्रत्येक पटक मन्त्री फेरिँदा मन्त्रीलाई कमिसन बुझाउनुपर्ने र हिसाब नमिले पद्च्युत हुने चलन छ । अधिकारी नियुक्त हुनुभन्दा पहिले संचारमन्त्री गोकुल बास्कोटासंग विदेशमा घुमेर डिल गरेको समाचार बाहिरिएको थियो । यसको प्रायोजन प्रतिस्पर्धी एनसेल तथा चिनियाँ हुवावे कम्पनीले गर्ने गरेको आरोप लाग्ने गर्दछ । एनसेलले नेपाल टेलिकमलाई प्रभावमा पारेर नेपाल टेलिकमको सेवा अवरुद्ध पार्ने तथा आफ्नो व्यापार प्रबद्र्धन गर्ने आरोप लाग्ने गरेको छ ।  

चिनियाँ हुवावे कम्पनीले नेपाल टेलिकम तथा एनसेलमा आफ्नो समान आपूर्ति गर्ने गर्दछ । हुवावे एनसेलको काम समयमा सक्ने तथा नेपाल टेलिकमको काम ढिला र एकदमै ठूलो लागतमा गर्ने गरेको आरोप लाग्दछ । केही आधारहरुले यसको पुष्टि गर्दछ । जस्तै थ्रीजी  विस्तार समयमा सकिएन । फोरजी विस्तारको कार्य तोकिएको समयमा पूरा भएको छैन । यस्तै फोरजी विस्तारमा नेपाल टेलिकमको लागत एनसेलभन्दा निक्कै ठूलो लागतमा ठेक्का हुवावे प्रतिनिधि कम्पनीले लिएको बताइन्छ । फरक रकम कर्मचारीदेखि हाइप्रोफाइलसम्म पुग्ने बताइन्छ । यसको बिरोध सडकदेखि संसदसम्म भयो  । तर केही भएन, न छानबिन न कार्बाही । हामीले निरन्तर  समाचार लेख्यौं । फलोअप ग¥यौं ।

यसैगरी निक्कै ठूलो लागतमा सेटलाइट र सेकुरिटी प्रेसको लागि फ्रान्स सरकारबाट ऋण लिने र ठेक्का फ्रान्सकै कम्पनीलाई दिने कुरा तथा ठूलो कमिसनको खेल हुन लागेको सूचना प्राप्त भयो । यसको संयोजन दिवंगत उद्यमी आङछिरिङ शेर्पाले  गर्दै गरेको र उहाँको हेलिकप्टर  दुर्घटनामा मृत्यु भएपछि संचारमन्त्री आफै फ्रान्स गएर डिल गरेको चर्चा चल्यो । सम्भवत : हामीले नै पहिलो समाचार बनायौं । माथि उल्लेख गरेको विषय सबै भ्रष्टाचार, पारदर्शिता र सुशासनको विषयमा छ ।  प्रत्येक ठाउँमा कामको सिलसिलामा सूचना संकलन हुन थालेपछि मेरो लागि समाचार बाइ प्रोडक्ट जस्तो भयो । समाचार बन्ने प्रारम्भिक सूचना संकलन हुन थालेपछि सम्पादकीय टीमलाई पनि सहयोग हुन थाल्यो । पत्रकारको रुपमा मेरो आयतन बढ्न थाल्यो । 

मलाइ लाग्यो– यस्तो सूचना राज्यका निकायका प्रमुख तथा राजनैतिक नेतृत्वलाई सुनाउनु पर्दछ । समाचार मात्र बनएर हुँदैन । कर्मचारी नेतृत्व कसैले पनि भ्रष्टाचार, पारदर्शिता र सुशासनको विषयमा कुरा गर्न चाहेनन ।  म सीधै संचार मन्त्रालय गए । संचारमन्त्री गोकुल बास्कोटाको स्वकीयसंग गएर भने– ‘मन्त्रीज्यूसंग भेट्नु छ ।  मसंग केही सूचना छ, उहाँलाई भन्नु छ र अन्तरर्वार्ता समय नि लिन्छु ।’ शायद हाम्रोमा आउने समाचारको बारे बेखबर संचार मन्त्रालय थिएन । पटक पटक समय लिन जाँदा उनले भने– ‘फोन न छोडेर जानू  समय हुनेबित्तिकै खबर गरौंला ।’  तर कहिल्यै फोन आएन ।

किन भ्रष्टाचारको आरोप लाग्ने गरेको ठाउँका मान्छे सहज भेटिदैनन ? प्रश्न पेचिलो भएर आएको छ । सबै आधारहरु हेर्दा भ्रष्टाचारको आशंका छ । जस्तै

१. एनसेलको व्यापार बढ्नु, नेपाल टेलिकमको नाफा घट्न थाल्नु ।
२. नेपाल टेलिकमको सेवा बेला बेला अवरुद्ध हुनु ।
३. हुवावेले ठूलो लागतमा नेपाल टेलिकमको काम जिम्मा लिनु र एनसेलको काम समयमा सक्नु, नेपाल टेलिकमको नसक्नु ।
४. बजार मूल्यभन्दा ठूलो लागतमा जी टु जीको नाममा फ्रान्स सरकारबाट ऋण लिएर बिना प्रतिस्पर्धा फ्रान्सेली कम्पनीलाई दिनु ।

अहिले मन्त्रीले कमिसनको डिल गरेको समाचार आएको छ । यसको छानबिन होला । तर विगत तर्फ हेरौ, कृष्णबहादुर  महराले चिनियासंगको  सम्बाद सार्बजनिक भएपछि खासै कार्बाही र छानबिन  भएन । तात्कालीन माओवादीले संसदमा व्यक्तिको गोपनीयता भंग भयो भन्दै बचाउ गर्यो । महरामाथि आरोप लागेपछि हालसालै सभामुख पद गुमाउनु पर्यो । संचारमन्त्री  बास्कोटालाई प्रधानमन्त्रीसंग जोडेर हेर्ने गरिन्छ । हेरौ अब के हुन्छ । हामी त दर्शक हौं ।  फिल्मको मध्यान्तर सकियो ओलीको थप कार्यकाल हेर्न बाँकी छ ।

(प्रतिकृयाको लागि:

 फेसबुक : https://www.facebook.com/guragainmadhav/

 इमेल :madhav@nepalaaja.com)

र यो पनि हेर्नुहोस:  

 त्यो बोली, यो ओली

माधव गुरागाईं