मनोरञ्जन

फागुन २९ मा लगनगाँठो कस्दै आँचल शर्मा

फागुन २९ मा लगनगाँठो कस्दै आँचल शर्मा

काठमाडौँ। गत एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा लगनगाँठो कस्दैछिन। फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ । आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि विवाहको मिति भने गोप्य राखेकी थिइन् ।

दुई परिवारबीच विवाहको मितिलाई लिएर छलफल भैरहेको उनको भनाई थियो । यसबीच, उदिपसँग उनको विवाहको मिति बाहिर आएको छ । आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको छ। आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त भएको छ ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । दुईले एकसाथ तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चामा मलजल पुगेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । उनीहरुले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको बताएका छ। 

एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताउँदै आएकी छन् । उनले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘डामाडोल’ नामक फिल्म गर्ने बताइएको छ ।

विवाह #आँचल शर्मा