स्वास्थ्य समाचार

हुरीले उडाएको स्वास्थ्य चौकीको छानो मर्मत नहुँदा मन्दिरवाट स्वास्थ्य सेवा

हुरीले उडाएको स्वास्थ्य चौकीको छानो मर्मत नहुँदा मन्दिरवाट स्वास्थ्य सेवा

६ चैत ०७६ को हुरीले छानो उडाएको बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलस्थित स्वास्थ्य चौकीको मर्मत नहुँदा मन्दिरवाट स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । 

स्वास्थ्य चौकी भवन नजिकैको शिवमन्दिरको एउटा कोठाबाट स्वास्थ्य सेवा दिने गरिएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब हरिओम साहले वताए । छानो उडाएको भवन मर्मतका लागि गाउँपालिकाका र वडासमेतले वेवास्ता गरेको स्थानीवासी वताउँछन् ।

मन्दिरको कोठामा पनि बिरामी अटाउने ठाउँ नहुँदा सर्वसाधारणले दुःख पाउने गरेको उनीहरुको भनाई छ ।

हावाहुरीले छानो उडाएलगत्तै गाउँपालिका अध्यक्ष हरिनारायण साहको नेतृत्वमा इन्जिनियरसहितको टोलीले स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरेको थियो । उनीहरुले स्वास्थ्य चौकीको मर्मत गर्नुको साटो नयाँ बनाउने आश्वासन दिएका थिए । स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब हरिओम साह भन्छन्–‘तर, हालसम्म न भवन वन्यो न त छानो लाग्यो।’

कमीसनका लागि अन्य धेरै भौतिक संरचना तयार भईरहे पनि स्वास्थ्य चौकी मर्मतमा भने कसैको ध्यान नपुगेको स्थानीयवासी वताउँछन् ।

स्वास्थ्य चौकीकै छेउमा प्रदेश सरकारले २० लाखका लगानीमा समेत सामुदायिक भवन वनिरहेको जानकारी दिएका स्थानीयवासीले जनताको स्वास्थ्य भन्दा सामुदायिक भवन पहिलो प्राथमिक्तामा पर्नु दुःखदायी भएको वताए ।

गाउँपालिका अध्यक्ष हरिनारायण साहले भने चालु आर्थिक वर्षभित्र नयाँ स्वास्थ्य चौकी बनिसक्ने गरी काम भइरहेको दावी गरे । 

स्वास्थ्य चौकीमा सिनियर अहेब, २ जना हेल्थ असिस्टेन्ट र २ जना अनमी कार्यरत छन् ।