समाचार अपराध सुरक्षा

प्रहरीको पेस्तोल खोसेर खाग तस्करले गोली चलाए, एक जना घाईते

प्रहरीको पेस्तोल खोसेर खाग तस्करले गोली चलाए, एक जना घाईते

बुटवलमा खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएका छन् । प्रहरीलाई ताकेर हानेको गोली आफ्नै साथीलाई लाग्दा एक खाग तस्कर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

खाग तस्करको आशंकामा प्रहरीले बुटवल–८ सुख्खानगरको पश्चिमाञ्चल फाइनान्स पछाडि कलस होटलमा उनीहरुलाई पक्राउ गर्न खोजेको थियो । खाग तस्कर बसेको प्रारम्भीक सूचनाका आधारमा २ जना प्रहरी सादा पोसाकमा होटलमा पुगेका थिए । होटलमा सोधपुछपछि ४ जना बसेको र कोठामा बाहिरबाट चुकुल लगाएको पाईएको थियो । ढोका फोरेर प्रहरी भित्र पसेपछि उनीहरुले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएका थिए ।

जाजरकोटको नायकवडा गाउँपालिका–४ का विरेन्द्रबहादुर सिंहले चलाएको गोली लागेर उनकै साथी काठमाडौं उपमहानगरपालिका बसन्तपुरका राकेश न्यौपाने घाईते भएका छन् । उनको चिउडोमा गोली लागेको छ ।

घाईतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली हान्ने विरेन्द्र फरार भएको र अन्य २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाजरकोटको बारीकोट गाउँपालिका ४ का कर्णबहादुर राउत र सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादर थापालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।