समाचार देश

गालीगलौजमा नउत्रन र अनर्गल प्रचार नगर्न कार्यकर्तालाई नारायणकाजीको आग्रह

गालीगलौजमा नउत्रन र अनर्गल प्रचार नगर्न कार्यकर्तालाई नारायणकाजीको आग्रह

प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिको ब्यक्तिगत सम्वन्धलाई जोडेर समेत नारावाजी गरेको विषय चर्चामा आईरहेका वेला नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरेका छन् ।

नेकपा (केपी शर्मा ओली ) समूहका नेता कार्यकर्ता जस्तो अनर्गल प्रचारकोपछि नलाग्न र गालीगलौजमा नउत्रन आग्रह गरेका हुन् । 

‘संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध हामी संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्–‘त्यस प्रकारको असंवैधानिक कदम चालिएको पुस ५ गतेको कालो दिन पछि पुस ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पु¥याइयो । हामी त्यसप्रकारको विसर्जनवादी प्रवृत्तिकाविरुद्ध पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं । यतिबेला हामी मुख्यतः प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिइ रहेका छौं ।’

उनले उक्त महान् उद्देश्यलाई केन्द्रमा राखी विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल–बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झूठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गरेका छन् । ‘हाम्रा लागि देश ,जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा भ्रष्टिकरणबाट बचाउनु पर्दछ’–उनले भनेका छन् ।