समाचार देश राजनीति प्रदेश १

अविश्वासको प्रस्ताव सामना गर्न मसँग ४७ सांसद छन्: मुख्यमन्त्री राई

अविश्वासको प्रस्ताव सामना गर्न मसँग ४७ सांसद छन्: मुख्यमन्त्री राई

आफुविरुद्ध ३७ जना सांसदले अविस्वासको प्रश्ताव दर्ता गराएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा अव सर्वदलिय सरकार वन्ने वताएका छन् । आफु विरुद्ध नियोजित रुपमा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्न आफु तयार रहेको पनि उनले वताए ।

‘मसँग सरकार टिकाउन र अविश्वासको प्रस्ताव सामना गर्नका लागि ४७ जना सांसद छन् । प्रदेश १ मा अविश्वासको प्रस्ताव पेस गर्दैमा केही असर पर्दैन’ उनले भने–‘प्रदेश सरकार समूह र व्यक्तिगत होइन । यो प्रदेशमा बहुमतप्राप्त व्यावहारिक मुख्यमन्त्री आवश्यक छ । प्रदेश सांसदसँग जनताले त्यही अपेक्षा गरेका छन् । म कसरी अल्पमतमा छु ? म त मुख्यमन्त्रीको निर्वाचनबाट छानिएको हुँ ।’

एउटा समूहले विगतदेखि नै शेरधन राई अल्मतमा छ भनेर हटाउन राजनीतिक खेल खेल्दै आएको र त्यही समूह प्रदेशमा राजनीतिक अस्थिरता ल्याउन लागेको उनले प्रष्ट पारे । ‘प्रदेश १ का सांसद राजनीतिभन्दा विकासका लागि धेरै चिन्तित हुनुहुन्छ । प्रदेशमा विकासका धेरै काम भएका छन् । त्यही भएर म ढुक्क छु’ उनले थपे–‘प्रदेश १ का सांसदले अविश्वासको प्रस्तावलाई अस्वीकार गर्नुहुन्छ । अहिले अविश्वासको प्रस्ताव पेस गर्ने त समूह हो ।’

सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको वताएका उनले सुविधाजनक बहुमतका साथ त्यसको सामना गर्ने बताएका छन् । 

मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गरेका छन् ।