समाचार विचार

कमरेडको उत्पत्ति, कम्प्रोम्याटको बिगबिगी !

नारायण पौडेल

कमरेडको उत्पत्ति, कम्प्रोम्याटको बिगबिगी !

कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो । समाजबादी र मजदुरहरुबीच सम्बोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड । युरोपमा कमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो । समाजवादी आन्दोलनसँगै कमरेड शब्दको प्रयोग राजनीतिक वृत्तमा ब्यापक भएको हो । भारतका नेहरुदेखि नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका लागि कामरेड आफ्नै जातको शब्द थियो ।

कमरेड शब्दको साइनो रुसी भाषासँग छैन तर यसको विश्वव्यापीकरण र कम्युनिष्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ । सोभियत क्रान्तिकारीहरु एकअर्कालाई सम्बोधन गर्न टोभरिस शब्दको प्रयोग गर्थे । छोटकरीमा टोभ भनिन्थ्यो । सोभियत क्रान्तिसम्बद्ध लेख, रचना, दस्ताबेज, भाषण आदिमा टोभरिस शब्दको प्रयोग नभएको सायदै भेटिएला । सोभियत क्रान्तिको राप र तापबाट सकारात्मक वा नकारात्मक जेसुकै हिसावले भएपनि पूरा विश्व तरंगित थियो । सोभियत क्रान्तिसम्बद्ध कागजात रुपान्तरण गर्ने क्रममा टोभरिसको उपयुक्त प्रायवाची शब्दका रुपमा कमरेडको प्रयोग भयो । त्यसपछि यो शब्द मूलतः कम्युनिष्टहरुको बन्न पुग्यो । आज विपीका अनुयायी कोही कँग्रेसजनलाई कमरेड भनियो भने उसको सामान्यतया जवाफ हुन्छ – म कमरेड होइन । अर्थात म कम्युनिष्ट होइन ।

कमरेड शब्दको भावमा समयअनुसार परिवर्तन हुँदै गएको छ । नेपालको सन्दर्भमा कमरेड शब्दको प्रयोग सायद उच्चतम विन्दुमा पुगेर ओरालो लाग्ने चरणमा छ । साविकको नेकपा एमालेमा पहिले जुनसुकै नेता कार्यकर्ताका बीचमा कुरा गर्दा कमरेड शब्दको प्रयोग हुन्थ्यो । पार्टी महासचिव र सेल कमिटीका सदस्यका बीचमा सम्बाद हुँदा उही समान हैसियतको शब्द कमरेडको प्रयोग सुनिन्थ्यो । बिस्तारै यो शब्दको विस्थापन पारिवारिक सम्बन्ध जनाउने शब्दले लिदै गरेको देखिन्छ ।
 
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई उनका समर्थकले सायदै कमरेड भनेर बोलाउने गर्दछन् । उनको अति निकट हुँ भन्ने देखिन निसन्तान ओलीलाई बा भन्न तछाडमछाड छ । बा प्रवृत्ति कम्युनिष्ट संस्कृति नभएको भन्दै बरिष्ठ नेता माधब नेपालले सार्वजनिकरुपमै आपत्ति जनाइसकेका छन् ।

साविकको नेकपा माओवादीमा औपचारिक सम्बोधनका सन्दर्भमा कमरेड शब्द चल्तीमा थियो । व्यक्तिको भाषामा कमरेड शब्दको साटो सर बढी प्रयोग भएको देखिन्छ । प्रचण्डलाई भूमीगतकालमै एकथरीले बा भनेर सम्बोधन गर्थे । अहिले एक कदम अघि बढेर प्रचण्डपत्नीलाई ममी भनेर सम्बोधन गर्ने परिवारबाहिरका केन्द्रीय सदस्यहरु पनि धेरै छन् । डाँडापाखामा जन्मेहुर्केका र मम्मी भन्ने शब्दसँग शान्तिप्रक्रियामा आएपछि साक्षात्कार गरेका युवा नेताहरुसमेतले निर्धक्क सिता कमरेडलाई मम्मी भनिदिन सक्ने हैसियत पूर्वमाओवादीको बनेको छ ।

कमरेड शब्दको मूलमै फर्कौँ । कोठामा सँगै बस्ने साथी अर्थात आफ्नो सुखदुःख निर्बस्त्ररुपमा देखेको मर्दापर्दा सबैभन्दा बढी काम लाग्ने मित्र भन्ने अर्थ थियो कमरेडको । राज्य ब्यबश्थाअनुसार सम्बोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ । राजा र रैतीलाई गर्ने सम्बोधनमा फरक, धनी र गरिबका लागि गरिने सम्बोधनमा फरक, लिङ्गअनुसार सम्बोधनमा फरक अर्थात सम्बोधनमै मान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन् । समाजबादी हुन् कि कम्युनिष्टहरु सम्बोधनमै हुने विभेद रुचाउदैनथे । त्यसैले बर्ग, जात, औकात, लिङ्ग केही नछुट्याउने कमरेड शब्दलाई प्रगतिशिलहरुले पछ्याए । अहिले कमरेडहरु कमरेड भन्दैनन् । नत कमरेडहरु मर्दा र पर्दाका भएका छन् । बरु निर्बस्त्र एकअर्कालाई सिद्धाउने अर्जुनदृष्टिमा छन् ।

कमरेडहरु दस्ताबेजमा बैज्ञानिक समाजबादको कुरा गर्छन् । सरल भाषामा भन्दा बिज्ञान र प्रमाणलाई विश्वास गर्ने र समाजको हितमा आफूलाई समर्पित गर्ने बाद नै बैज्ञानिक समाजबाद हो । तर, कमरेडहरुका दस्ताबेजमा बैज्ञानिक समाजबाद शब्दावली भेटिएपनि बैज्ञानिक समाजबादको अभ्यास भेटिन छाडेको छ । मन पर्दा अलकत्रा भएपनि चाट्ने र रिस उठ्दा मुलाझैँ काट्ने प्रवृत्ति कमरेडहरुमा झ्याङ्गिएको छ । आम मानिसले समेत झ्याप्प भन्न डराउने आरोप प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई औपचारिकरुपमै लगाएका छन् । भोलि मिल्ने परिस्थिति देखिए शब्दको प्रयोगमा आकाश जमिनको फरक पर्नेछ । र, भनिने छ–देशभक्त, क्रान्तिकारी, कम्युनिष्ट...हरु एक हुनु आजको आवश्यकता हो । अरे बाबा, आजको भ्रष्टचारी, देशद्रोही, प्रतिगामी....आदि रातारात कसरी देशभक्त, क्रान्तिकारी, कम्युनिष्ट हुन सक्छ ? विज्ञानमा विश्वास गर्ने र समाजमा समर्पित हुने बैज्ञानिक समाजवादका अनुयायीहरुसँग यसको उत्तर छ ?

आफू मरेर पनि सहयोद्धालाई बचाउने सिद्धान्त बोकेका कमरेडहरु एकअर्कालाई सिद्धाउन विभिन्न हतियार प्रयोग गर्दैछन् । त्यसमध्येको एउटा हतियार हो–कम्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने ब्यापक छ । कसैलाई आमरुपमा नस्ट गर्न पर्यो भने उसले यौनका सवालमा गरेको सम्झौता वा रोमान्सलाई बाहिर ल्याउने षडयन्त्रलाई कम्प्रोम्याट भनिन्छ । रुसी भाषासँग सम्बन्धित कम्प्रोम्याटको प्रयोग राजनीतिमा नयाँ होइन । तर, जनताले बुझ्ने गरी अर्थात नाङ्गोरुपमा कम्प्रोम्याटको प्रयोग पछिल्लो चरण हुन थालेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा कम्प्रोम्याटबाट शिकार भएका सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् । उनी र रोषनी शाहीबीचको विवाद पार्टीको मूलपंक्तिका लागि नयाँ थिएन । पार्टीमा उजुरीसमेत दिइएको बताइन्छ । तर, सुनुवाइ गरिएनछ । जब कुरा सार्वजनिक भयो, कृष्णबहादुर महरालाई पदमुक्त हुन निर्देशन दिइयो । त्यसपछि महरा प्रकरणलाई बिशुद्ध अदालती विषयकारुपमा मात्र हेरियो । केन्द्रीय नेतृत्वमा रहीसकेको र संवैधानिक ओहोदामा रहेको व्यक्तिमाथिको आरोप विशुद्ध अदालती प्रसंग मात्र हो ? अझ कम्युनिष्ट पार्टीका लागि त्यो ‘बुर्जुवा’ अदालती विषयभन्दा आन्तरिक छानबीन, सजाय वा न्यायको बिषय हुनु पथ्र्यो । तर, अहिलेसम्म आन्तरिक छानबीन गरिएको छैन, पार्टीमा एजेण्डासमेत बनेको छैन ।

महरा प्रकरणको बर्षदिन नपुग्दै अर्का नेता नारायणकाजी श्रेष्ठमाथि कम्प्रोम्याटको तरवार झुण्डिएको छ । सार्बजनिक भएको भिडियोमा श्रेष्ठ दोषी हुने कुनै आधार देखिदैन, नत उनी आफू प्रत्यक्ष लेनदेनमा रहेको बुझिन्छ । तर, उनको स्वकीय सचिव रहिसकेकी सुसन कर्मचार्य मुछिएको बिषय रहेकाले श्रेष्ठपनि दोषि रहेको स्थापित गर्न खोजिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीका कटु आलोचकका रुपमा देखिएकाले उनको विरुद्ध ओली समर्थकहरु खुलेआम लागेका छन् । अबिबाहित श्रेष्ठ कम्युष्निट नैतिक र आदर्शबादी हुनुपर्ने बताउने गर्छन् । उनलाई नैतिकता र आदर्शबाद यही हो भनेर आमरुपमा खिशिट्युरी गरिएको छ । नारायणकाजी लेनदेनमा सहभागी छन् वा छैनन्, उनीसँग नाम जोडिएका महिला पात्र र उनको सम्बन्ध बिशुद्ध कमरेडेली वा अरु केही ? यसबारेमा सायदै कहिलै छानबिन होला । तर, यो बिषयलाई लिएर कमरेडहरुले छेडखानी हान्न नारायणकाजीलाई सायदै कहिलै छाड्नेछन ।

एकले अर्कोलाई सिद्धाउन प्रयोग गरिएको र हालै अदालती प्रक्रियाबाट बिट मारिएको अर्को कम्प्रोम्याट हो –शेरधन राई र बालिका खड्काको सम्बन्ध । बालिकाले आफूमाथि यौन शोषणसमेत भएको भनी राई बिरुद्ध पार्टीमा निवेदन दिएकी थिइन् । त्यसबारेमा पार्टीमा आधिकारीक छलफल नै भएन । केटी नै उस्ती भन्ने मनोविज्ञान शीर्ष नेतृत्वमा देखियो । खड्का न्यायको माग गर्दै अदालत पुगिन । पछि अदालतमा खड्काले अर्काको लहैलहैमा लागेर आफू राईका बिरुद्ध लागेको भन्दै पश्चातापपूर्ण लिखित निवेदन दिएपछि कुरा टुङ्गियो । अर्का नेता कृपाशुर शेर्पाको उक्साहटमा खड्का राई बिरुद्ध खनिएको राई पक्षको दाबी छ । केन्द्रीय तहका दुई नेताबीचको यो स्तरको दाउपेच हुँदापनि साबीकको नेकपा एमालेमा कुनै आधिकारीक एजेण्डा बनेन । अहिले नेकपालाई यस्ता कुरा गर्ने फुर्सद नै छैन । पूर्वप्रधानमन्त्री रहिसकेका माधब नेपाललाई अख्तियार लगाउने भय सृजना गरिएको छ । अख्तियार प्रमुखलाई नेपालबिरुद्ध मुद्धा चलाउन प्रधानमन्त्री ओलीले दबाब दिएको बताइन्छ । प्रचण्डमाथि हेग पु¥याउने डर देखाइन्छ ।

भनिरहनु पर्दैन नेकपाका हाइकमाण्डदेखि सेल कमिटीका सदस्यसमेत कम्प्रोम्याट प्रयोग गर्ने होडमा वा कम्प्रोम्याटको शिकार हुने जोखिममा छन् । एउटा गुटकाले अर्को गुटकालाई सिद्याउनमात्र होइन आफ्नै गुटभित्रपनि खत्रा दाउपेच हुन थालेका छन् । कुनैबेला एउटै थालमा खाने भनिएका दाइ–भाइसरह ठानिएकाहरु बीच श्रीमती खोसेको बात लागेको प्रसंग नेकपावृत्तमा तात्तातो छ । यात यो त्यसै सेलाउने छ यात ऐन मौकामा कम्प्रोम्याट बनाइने छ । नेकपामा बिषय नीतिगतरुपमा उठान गर्न छाडिएको छ । कसैलाई सिद्याउन वा बनाउनका लागि मात्र बिषय उठ्न थालेको जस्तो देखिँदै गएको छ । नेकपा साइजमा जति बिशाल छ उत्तिनै कमरेडेलीपन खुम्चिएको छ । कम्प्रोम्याटको बिगबिगी बढेको छ ।