समाचार अपराध सुरक्षा

आफनै दाजुबाट सात वर्षसम्म बलात्कार, अदालतमा दर्ता भयो मुद्दा

आफनै दाजुबाट सात वर्षसम्म बलात्कार, अदालतमा दर्ता भयो मुद्दा

सात वर्षसम्म आफनै दाजुबाट बलात्कृत भएको भन्दै पाल्पाको तत्कालिन दोमान गाविस–५ की ३२ वर्षीया युवतीले न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी छन्। ती युवतीको हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी छन्।

पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै महिलाले मुद्दा दर्ता गरेको श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले वताए। बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन्।

मुलुकी अपराध संहितामा हाडनाता करणीको मुद्दा जहिले पनि दिन पाउँने ब्यवस्था छ। ‘बलात्कार मुद्दाको हदम्याद एक वर्षको हुन्छ’ उनले भने–‘त्यसपछि आउने मुद्दाको अनुसन्धान जटिल हुने हुँदा पीडितले न्याय पाउने सम्भावना एकदमै कम हुन्छ।’ ति युवतीको हाडनाता करणी मुद्दाउपर कारबाही सुरू भइसकेको अदालतले जनाएको छ।

पिडक उपस्थित नभए पक्राउ गरी अदालती कारबाही सुरू हुने वैतनिक वकिल शालिकराम घिमिरेले बताए। मुद्दामा उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको आरोप लगाएकी छिन्। उनले आरोप लगाएका व्यक्ति पेशाले स्वास्थ्यकर्मी हुन्।

पीडक दाजुसँगै बस्ने बुवा–आमालाई दुःख हुन्छ भनेर आफूले लामो समय कानुनी लडाइँका लागि मानसिक रुपमा तयार नभएको उनले बताइन्। अहिले आमावुवा दुवै जनाको निधन भएकाले आफु कानुनी उपचारका लागि अघि सरेको उनको भनाई छ ।