समाचार स्वास्थ्य

वीर अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी– ३ दिनमा माग पुरा नभए सेवा ठप्प पार्छौ

वीर अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी– ३ दिनमा माग पुरा नभए सेवा ठप्प पार्छौ

४४ दिनदेखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलनमा लागेपछि वीर अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकमी तथा कर्मचारी आन्दोलनमा छन् ।

स्वास्थ्यकर्मीहरूले मंगलबार पनि वीर अस्पताल परिसरमा धर्ना दिएका छन् । उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरूले न्याम्सका पदाधिकारीहरूलाई अस्पताल प्रवेश गर्नसमेत दिएका छैनन् ।

अस्पताल प्रशासनका अनुसार आन्दोलनका कारण चार सय शय्याको वीरमा अहिले ४० शय्यामा मात्र बिरामी छन्, बाँकी तीन सय ६० शय्या खाली छन् । अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण वीरको सेवा प्रभावित भएको जनाईएको छ ।

वीर अस्पतालका कर्मचारी आन्दोलन संयुक्त संघर्ष समितिका प्रवक्ता धुर्वराज आचार्यले कोरोनाका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले सरकारले तोकेका सेवा सुविधा नपाएकापछि आन्दोलन थालिएको वताए । आफुहरुको मागलाई न्याम्सका पदाधिकारीहरूले बेवास्ता गरेको उनको गुनासो छ ।

स्वास्थ्यकर्मीहरुले आगामी १९ गतेभित्र आफ्ना मागहरू पूरा नभए अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

वीरमा सरकारी र न्याम्सका गरी दुई थरिका कर्मचारी छन् । सरकारी कर्मचारीले सेवा सुविधा पाए पनि न्याम्स अन्तर्गतका कर्मचारीले त्यो सेवा नपाएको आचार्यले वताए ।