समाचार अपराध सुरक्षा

पतिसँग छुट्टिन प्रहरीमा घरेलु हिंसाको उजुरी, घरमा चोरीको नाटक

पतिसँग छुट्टिन प्रहरीमा घरेलु हिंसाको उजुरी, घरमा चोरीको नाटक

विश्वमा हरेक दिन नयाँ–नयाँ र रोचक तथा अनौठा घट्ना घटिरहेका हुन्छन् । नेपालमै पनि कहिलेकाहि यस्ता घट्ना नभएका होईनन्।

तर, श्रीमानसँग छुट्टिएर वस्न र उनको सम्पत्ति समेत हात पार्ने कुनियतले प्रहरीमा पति विरुद्ध घरेलु हिन्साको उजुरी तथा घरमा लाखौंको चोरीको नाटक गर्ने महिलाको अनौठो घटना सार्वजनिक भएको छ । चोरीको नाटक गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका–१ घर भएकी कान्छी पोडेलाई आईतवार नै प्रहरीले पक्राउ पनि गरीसकेको छ ।

चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । कान्छी पोडे र उनका श्रीमान सानु कान्छा पोडे दुबै जना आइतबार दिउँसोसम्म महानगरीय प्रहरी परिसर, ललितपुरमै थिए। कान्छीले सानुकान्छामाथि घरेलु हिंसाको जाहेरी दिएकाले छलफलका लागि दुबै पक्षलाई बोलाएको थियो ।

तर, उनीहरु घर फर्केपछि कान्छिको घरमा चोरी भएको भन्दै प्रहरीमा फोन आयो । करिब २६ लाख नगद, दुई तोला सुनको सिक्री, एक तोला सुनको सिक्री, दुई तोलाको हातमा लगाउने बाला, आधा तोलाको झुम्का एक जोर, पाँच तोला चाँदीको पाउजु एक जोर र २० तोलाको चाँदीको मूर्ति हराए भन्दै उनले प्रहरीमा मौखिक जाहेरी गरिन् ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट घट्नास्थलमा प्रहरी टोली खटियो। घट्नास्थलको प्रकृति हेर्दा ठिक चोरी भएकै जस्तो थियो। प्रहरीका अनुसार ढोका, दराज फोडिएका थिए । सामानहरू पनि छरपस्ट थिए।

प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा घरमा कोहि पसेको सुराक फेला परेन। त्यसैले प्रहरीको शंका कान्छीतिरै सोझीयो ।

उनको अस्वभाविक व्यवहार र अन्य मान्छे पसेको सुराक फेला नपरेपछि कान्छिलाई शंका गर्नु स्वभाविक थियो । त्यसपछि प्रहरीले उनको घरको खानतलासी गर्न थालेको थियो। खानतलासी गरेपछि माथिल्लो तल्लाको पूजा कोठाको स्टिलको दराजभित्र लुकाएर राखेको अवस्थामा हराएको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ । आफ्ना श्रीमान सानु कान्छासँग सम्वन्ध बिग्रिएपछि छुट्टै वस्न र भएको सम्पत्ति समेत हत्याउन त्यस्तो नाटक गरिएको उनको भनाईका आधारमा प्रहरीले जनाएको छ ।