समाचार

दुई वर्षभित्र देशभरी ३ सय ९६ अस्पताल वनिसक्ने

दुई वर्षभित्र देशभरी ३ सय ९६ अस्पताल वनिसक्ने

सरकारले ३ सय ९६ वटा स्थानीय तहमा दुई वर्षभित्र ५ देखि १५ वेडको अस्पताल निर्माण गरिसक्ने तयारी गरेको छ ।


अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति पनि दिएको छ।

पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन सहमति दिने निर्णय भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।


यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रुपमा जानेछ। अस्पताल दुई वर्षभित्र वनिसक्ने छन् ।

अर्थले पनि स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि नै ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ।

अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि बसेको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माण शिलान्यास गर्ने तय भएको थियो।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ।