कला साहित्य

कोरोना एक अनुभव 

कोरोना एक अनुभव 

छन्द : शार्दूलबिक्रीडित 
रचना : मुक्ति पोखरेल 
इटहरी ४ , सुनसरी 

यस्को जन्म कहाँ भयो र कसरी आयो कताबाट यो ?
रोगी बाल युवा र बृद्ध बनिता कोही नछाड्ने भयो ।।
लाखौं औषध छन् अणू कति बने संसार नासी लिने ।
यस्तो सुक्ष्म विषाणु रोधक कतै बन्दैन की मासिने ?

भन्छन् कत्ति  ठुला धनी मुलुकले यो विश्वनै किन्दछौँ । 
को को के कति शक्तिमाछ सहजै हामी सबै चिन्दछौँ ।।
यस्तो धाक लगाउने मुलुकको सातो उडाई दिँदा ।
यौटा तुच्छ जिवाणु जित्न नसकी हावा सरी फैलिँदा ।।

लज्जा बोध भएन आज तिनमा शेखी अझै गर्दछन् ।
ख‍ोज्छन् गर्न प्रकृति माथि हमला आफै थलापर्दछन् ।।
राखेनन् वनका सबै तरु लता  हावा बन्यो दूषित ।
त्यस्तै कारणले बढी धरणीमा ब्याधी बने पोषित ।।

फाँडी जङ्गल फाटका रुख सबै  पानी सुक्यो मूलको ।
आकाशैसँग दाजिने घर बने त्यो नै ठुलो भूलभो ।।
गुड्छन् यानहरू ठुलो स्वरगरी फाल्दै धुवा बेस्सरी ।
गर्दैछौं विषयुक्त भोजनहरू बासी  अनेकौं थरी ।।

लागीगो पनि रोग यो यदिभने सर्वाङ्ग पोल्ने भयो ।
बास्ना स्वाद सबै हराउँछ अनी उल्टी समेत् हुन्छ पो ।।
घाँटी खस्खस गर्छ आउँछ जरो सुख्खा मुखैमा हुने ।
सारा शक्ति खिचेर लान्छ यसले पाइन्न अौषध् छुने ।।

तातो खानु र बस्नु बाहेक भई जम्मै परिवारका ।
पानीको पनि बाफ पर्दछ लिनू ज्वानु र बेसारका ।।
साथैमा तुलसी अनी लसुनको काँढा पिए दिन्दिन ।
आत्माको बल घट्न कत्ति नदिए बाँचिन्छ है सज्जन !
       
( घरकै आइसोलेसनबाट )