समाचार

मालपोत कार्यालय पर्षाका कार्यालय प्रमुखसहित २१ जना पक्राउ

मालपोत कार्यालय पर्षाका कार्यालय प्रमुखसहित २१ जना पक्राउ

पर्षाको वीरगञ्जस्थित मालपोत कार्यालयमा छापा मारेर स्थानीय प्रशासनले १३ जनालाई नियन्त्रणमा लिएको छ ।

कर्मचारीहरुले रातको समयमा कार्यालय खोलेर गलत कृयाकलाप गरिरहेको सुचनापछि जिल्ला प्रशासन कार्यालय पर्षाले छापा मारेको हो । विहिवार राती करिव १० वजे भएको छापामारीमा निमित्त प्रमुख सुमन कुमार झासहित २१ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा १३ कर्मचारी र ८ जना लेखापढी व्यवसायी रहेको प्रशासनले जनाएको छ।

प्रशासनले बोलाएको समयमा हाजिर हुनेगरी कर्मचारीहरुलाई भने छोडेको छ। लेखापढी व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ । लेखापढी व्यवसायीहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम साह, रवीभुषण प्रसाद पटेल वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा छन् ।

बाहिरी व्यक्तिको उपस्थितिमा कार्यालयमा अवैध कारोवार भएको सूचनाका आधारमा छापामारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

उनीहरुले प्रयोग गरिएको केही कागजातहरू समेत नियन्त्रण गरिएको उनले वताए । प्रशासनले घुस लिएको आशंकामा तीन वटा दराजमा राखिएको नगद १२ हजार २ दुई सय ५५ रुपैयाँ समेत बरामद गरेको छ ।

कार्यालयको कामकाज प्रभावित नहोस भनेर कर्मचारीहरुलाई छोडिएको वताएका पौडेलले उनीहरुको बयान लिएर थप अनुसन्धान पछि कारबाही प्रक्रिया गरिने जानकारीि दिए ।