समाचार विचार

कोरोना कठघरामा ऐतिहासिक दशैं

सुष्मा तिमिल्सिना

कोरोना कठघरामा ऐतिहासिक दशैं

लामो समयको उकुस मुकुसपूर्ण बातावरण कायमै छ। कोरोना संक्रमणका कारण बन्दी बनेको खुला जीवन बाध्यात्मक चहल–पहल बाहेक संकुचित छ। अधिकांसले सामाजिक तथा भौतिक दुरी कायम गरी आवस्यक कर्म गरिरहेका छन्। दिनुहु कोरोना संक्रमण बढीरहँदा वस्ती–वस्तीमा संक्रमित थपिईरहेका छन्। महिनौसम्म सुनिरहँदा संक्रमण तथा मुत्युका समाचार सामान्य जस्तो बन्न थालेको छ। ‘कोरोना–कोरोना’ भनेर त्रस्त बनेको जनजीवन वाक्क दिक्क भएर कोरोना डर विरुद्ध बिद्रोह गरी खुला बन्ने सोचमा पुगेको छ। व्यवहरमै कतिपय पुगिसकेका छन्। यसको प्रभाव तथा खतरा तीव्र गतिमा बढिरहेको छ। बाध्यता हो, जे पर्छ त्यो बेहोर्नु नै छ। कति डर र त्रासमा बाच्नु भन्ने सोच राखी मनोबल उच्च राख्नेको संख्या पनि कम छैन। अर्कोतर्फ कैयनले केवल मुर्खता प्रदर्शन गरेका छन्। अधिकांस सचेत मानिसहरू त्रास र चिन्तामा छन्। खुला हुने प्रयास गर्ने पनि बढेकै छन्। थुप्रै साथी इष्टमित्रहरू संक्रमित भई निको भएको समाचारले त्रास केही कम गरेको पनि छ। तर कतिपय कलकलाउदा उमेरका, कृयाशील जीवन विताई रहेका होनहार मानिसको ज्यान गएको खवरले खिन्न बनाइरहेको छ।

आफ्नो नजीकै संक्रमण निको भएका तथा मृत्युको खबरका बाबजुद हिन्दुहरुको महान पर्व दशै, तिहार तथा छठपर्व नजिकै आएको छ। सदियौदेखि हर्ष उल्लासकासाथ मनादै आएको पर्व यसपाली भने ऐतिहासिक रुपमा फरक हुने देखिएको छ। सबै चाडपर्व कोरोनाको कठघरामा परेका छन। मानव जीवन, सभ्यतासँगै संस्कृति समेत प्रभावित बनेका छन्। यसका बाबजुद काठमाडौँबाट घर फर्किनेहरुको चहल–पहल बढेकै छ। प्रायः स्कुल र कलेजहरु बन्द भएका कारण धेरै बिद्यार्थी काठ्मान्डुमा छैनन्। पहिले नै घर घर गैसकेका छन्। अहिले उपत्यकाबाट बाहिरिनेहरु  व्यापार/ब्यवशाय गर्नेहरु छन् कि त सानो तिनो नोकरी गरेर जिबिका चलाउनेहरु छन्। सडकमा सदा झैँ दशैं नजिकिदै गर्दा व्यापार गरेर दशैं खर्च जुटाएर चाडपर्व मनाउन घर जाने आशामा बसेकाहरु यसपाला भने निरास छन्। किन कि सदा झैं यसपाली दशै व्यापारमा कुनै रौनकता छैन। नागरिकहरूले उपचार पाउन नसकेर मृत्युले छट्पटाएका हृदयविदारक घटनाहरू दिनप्रतिदिन बढ्दो छ। औषधिको अभाव छ। अस्पतालहरू अपर्याप्त छन्। कयौको रोजगारीमाथि संकट आएको छ। नागरिकहरू बेरोजगार छन्।

यो वर्ग खुसी कम र निराशा बढी लिएर उपत्यकाबाट बाहिरिदै छ। कतिपयले आफ्ना भाडाका कोठा छाडेर समान सहित घर जादै गरेका दृश्यहरु सडकमा देखिदै छन्। कोरोना संक्रमणको जोखिमका कारण पाँच महिनादेखि व्यापार/व्यवसाय ठप्प भएपछि व्यवसायीहरू संकटमा परेका छन्। स्वदेशीमात्र नभई विदेशी पर्यटकको समेत भिडभाडले बैग्लै रौनक देखिने शहर बजार यस्तो संकटको अवस्था आएको छ। 

केहिदिन अगाडिसम्म यसरी बाहिरबाट गाउँ जानेहरुका लागि स्थानीय सरकारहरुले क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका थिए। जसका कारण दुर्गम ठाउँहरुमा संक्रमणले भयावह रुप लिन सकेको थिएन। तर अहिले चाडवाडको माहौलसंगै गाउँ फर्किनेहरुको संख्या बढी भएकोछ र धेरै त्यस्ता क्वारेन्टिनहरु बन्द गरिएका छन्। प्राय स्कुलहरुमा संचालन गरिएका क्वारेन्टिन सरकारले शैक्षिक संस्थाबाट हटाउने निर्णय गरेसंगै अहिले घर जानेहरु घर–घरमै बस्ने गरेका छन्। मलाई छैन र आफन्तलाई पनि संक्रमण छैन होला भन्ने आम मनशिक्ता यो अवस्थाका लागि निकै घातक बन्न सक्ने छ। प्राय घरमा रहनेहरु उमेरले पाको भएका र रोगले च्यापी सकेका अथवा रोग प्रतिरोधी क्षमता कम्जोर भएकाहरु छन। उनीहरु संक्रमणको जोखिममा पर्ने सम्भावना अधिक छ। कतिपय जवान र स्वस्थ व्यक्तिहरूको समेत संक्रमणका कारण निधन भएको देख्दा/सुन्दा जोसुकै मानिसलाई कोरोनाले सिकार बनाउन सक्छ भन्ने प्रष्ट हुन्छ। सरकारले यस बिषयमा जनचेतनाका लागि ‘आशिर्बाद बचाउँ’ भन्ने नारा प्रचार गरेको त छ अथवा आफुलाई आशिर्बाद दिने बा, आमा, हजुरवा, हजुरआमाहरुलाई संक्रमणको जोखिममा नपारौं भन्ने आशय लिएको देखिन्छ। तर, यस्ता नारा वा सुचनामा कसको कति पहुँच हुन्छ र कसले कसरी बुझ्छ भन्ने कुरामा भर पर्छ। सामान्य प्रचारको यो नाराले धेरैका आशिर्बाद बच्ने हुन् वा नबच्ने हुन् भन्न सकिने अवस्था छैन। 
 
कोरोना संकटका सामु विश्व समुदायनै निरिह बनेका बेला मानविय मुल्य मान्यताका साथै सामाजिक तथा संस्कृतिक पक्ष समेत प्रभावित बनेका छन्। सिङ्गो मानब जीवन नै जेल सरह कष्टपूर्ण र सावधानी बीच चलेको छ। यो परिवेशमा हाम्रा सामाजिक सांस्कृतिक जीवन समेत प्रभावित बन्ने नै भए। तर पनि नजिकिदो पर्वले मनमा मात्र भएपनि केही रौनक्ता ल्याएको छ। कसैलाई मनमा त कतिपयलाई व्यबहारमा। सबैलाई हर्ष उल्लासको पर्व बन्न कठिन छ। अघिल्ला वर्षहरु झै बजार चल्दैनन्। चहल पहल हँुदैन। शहरदेखि गाउँ र परदेशदेखि स्वदेश सबै ठाउँमा उल्लास न्यून हुनेछ। मठमन्दिरहरु अहिलेसम्म खुल्ला गरिएका छैनन्। काठमान्डुको बढ्दो संक्रमण दरका कारण सायद मठमन्दिरहरु आम नागरिकहरुका लागि नखोलिन पनि सक्छन। त्यसैले मठ मन्दिरको आवत–जावत कम हुने छ। टीकाटाला तथा आशिर्वादको शैली फेरिने छ। फोन, मासेन्जर, भाइवर र जुम लगायतका माध्यमबाट आपसी जमघटको कुरा हुने छ। नयाँ नाना तथा खानामा समेत प्रभाव पर्नेछ। खेलवाड सुक्ने छ। पिङको रौनकता न्युन हुनेछ। खुला परिवेस घर परिसरमै केन्द्रीत रहनेछ। संभवतः यसपालीको दशै मछिन्द्रनाथको रथयात्रा जस्तै परिमार्जित स्वरुपमा मनाइने छ। तिहार तथा छठ लगायत यस २०७७ भित्र मनाइने हरेक पर्वको स्वरुप ऐतिहाँसिक रुपमा परिमार्जित रुपमा मनाइने छ।

जेहोस हाम्रा रमाइलो पर्वले यसपाली बजार, भेषभुसा, खानपिन, खेलवाड तथा सबै रमझमलाई रुपान्तरण गर्नेछ। गहिरिँदो कोरोना संक्रमणमा नजिकको पर्वका कारण संक्रमित हुनेलाई सिघ्र स्वास्थ लाभ गर्ने अदभुतपुर्व उर्जा प्रदान होस्। संक्रमणको जोखिमबाट बच्न पर्याप्त सावधानी अपनाउन ध्यान पुगोस। धेरै लोभ तथा लाल्ची नवनी यथास्थानमा बसेर जे जस्तो अवस्थामा छौ, सोही आवस्थामा  रमाएर पर्व मनाउन, खुसि बन्न दुर्गा भवानीले शक्ति प्रदान गरुन। आफु, आफन्त तथा समाज र राष्ट्र संकटबाट जोगियोस भन्ने कामना गरौ। पर्व पहिला पनि मनाएकै हो। यस पालि पनि मनाइनेछ। फरक यति मात्र हो, पर्व मनाउने शैलीको। विद्यमान परिस्थिती र परिवेश अनुकुलको आचरण तथा व्यवहार गरियो भने मात्र अर्को वर्ष खुसी साट्न र रमाइलो गर्न पाईएला। तसर्थ यसपलि सावधानी तथा सचेतना जरुरी छ। समयसँगै सबै ठीक हुँदै जानेछ यसैको प्रतिक्षा गरौ। नेपाली उखान छ ‘हुलमुलमा जिऊ जोगाउनु, अनिकालमा बिऊ जोगाउनु’ यसको अर्थ संकट पर्दा जोगाउन र जोगिन जान्नु पर्छ भन्ने नै हो। हामी साँच्चै संकटमा छौं र नजिकिदो बडादशै, शुभ दिपावली तथा छठ पर्वलाई कोरोनाको जोखिम अनुरुप ऐतिहासिक रुपमा मनाऔ। सवैमा बिजया दशमी, शुभदिपावली तथा छठपर्वको असीम शुभकामना।