समाचार

न्यूरोडबाट ९२ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

न्यूरोडबाट ९२ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौंः हट्सप वुई च्याट मार्फत अवैध हुण्डीको कारोबार गर्ने ४ जना काठमाडौंको न्यूरोडबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भइरहेको सूचनाको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्ने व्यक्तिहरुबाट नगद, चेक रकम, विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वी च्याट मार्फत अवैध हुण्डीको कारोबार सहितको विवरण बरामद गरिएको छ । 

पक्राउ पर्नेमा काठमाडौं–२४ इन्द्रचोक इ–जोन पसलको सेल्फ स्टाफ गोपाल अग्रवाल, ई–जोन पसलका कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका ३१ बर्षका भोला नेपाल पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार बरामद गरेको हो । 

यस्तै काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका सञ्चालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद गरिएको हो । सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई पनि प्रहरीले नियत्रणमा लिएको छ ।   

महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैँक रकम ७८ लाख ९९ हजार गरी ९२ लाख ५१ हजार बरामद गरेको बताए । पक्राउ परेका चार जनाको अनुशन्धान सुरु भैसकेको र थप कारवाहीका लागि राजस्व तथा अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको एसएसपी थापाले बताए । 

हुण्डी कारोबार पक्राउ अवैध हुण्डी न्यूरोड