प्रवास

अमेरिकामा बस्ने नेपालीद्वारा रंगशालालाई २ लाख २४ हजार सहयोग

अमेरिकामा बस्ने नेपालीद्वारा रंगशालालाई २ लाख २४ हजार सहयोग

काठमाडौंः चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यसैबीच जनस्तरबाट निर्माण भइरहेको यो रंगशालाका लागि झापा स्थायी घर भएर हाल अमेरिकाको टेक्सास बसोवास गर्ने दिपक सिग्देल र सारा सिग्देलले २ लाख २४ हजार ५ सय ८० रुपैयाँ सहगोग गरेका छन् । उनीहरुले उक्त रकम एपिवान टेलिभिजनका समाचार प्रमुख टिकाराम यात्री मार्फत धुर्मुस–सुन्तली फाउण्डेशनलाई प्रदान गरेका हुन् ।  

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्ने छन् ।

क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्ने छन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो ।

काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमूना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दिपक सिग्देल सारा सिग्देल