मनोरञ्जन भिडियो Breaking News कभर स्टोरी

गीतले पनि गाउनेलाई चिन्नुपर्छ ( भिडियोसहित) 

गीतले पनि गाउनेलाई चिन्नुपर्छ ( भिडियोसहित) 

‘के भूल भयो प्रिया म संग बोल्दिनौ...’ यो बहुचर्चित गीतका गायक नरेन्द्र प्यासी अहिले काठमाडौंमा छन् । अमेरिकामा परिवारसहित बस्दै आएका प्यासी छोरीको विवाहका लागि काठमाडौं आएका हुन् । 

काठमाडौं आएको मौकामा साथीभाईहरुसंग मिलेर केही नयाँ गीत रेकर्ड गर्ने उनको योजना छ । गीतहरु तयार भैसकेको र अहिले लय बनाउने काम भैरहेको उनी बताउँछन् । उनको नजरमा अहिले नेपालमा गीत संगीतको राम्रो विकास भैरहेको छ । टेलिभिजनमा एकपछि अर्को गरी आइरहेका ‘रियालिटी सो’ले नयाँ साङ्गितिक माहोल बनाएकोमा उनी प्रफुल्ल छन् । 

उनी भन्छन्, ‘ सबथोक ठीकै छ, तर गाउँदा प्रष्टसंग गाउनुपर्छ । पछिल्लो समयमा गीतहरुमा प्रष्टता अर्थात उच्चारणमा समस्या देखिएको छ । ’
रियालिटो शोका सन्दर्भमा भने उनी जजप्रति केही आलोचक छन् । जजहरुले गीत राम्रो गाउनुभयो वा बिग्रियो मात्र नभनेर राम्रो कसरी भयो ? कहाँ के बिग्रियो ? भन्ने कुरा पनि खुलाउन जरुरी भएको उनी ठान्छन् । 

पछिल्लो समय रोयल्टीको विवाद निस्किएको भएपनि आफू त्यसको मारमा नपरेको उनी बताउँछन् । आपूmलाई समझदारी अनुसार कम्पनीहरुले सम्मानजनक व्यवहार नै गरेको उनको अनुभव छ । 

कुनै समय ‘डुप्लिकेट दीप श्रेष्ठ’ बाट परिचित प्यासी श्रेष्ठसंगै नारायण गोपाल र  भक्तराज आचार्यका फ्यान हुन् । सानैदेखि गीत संगीतमा लागेको भएपनि २०४२ सालमा रेकर्ड भएको के भूल प्रिया बोलको गीतबाट आफूले सर्वाधिक चर्चा भएको उनी स्वीकार गर्छन् । 

प्यासी भन्छन्, ‘अमेरिकामा पनि मेरो प्रमुख काम भनेको गीत गाउने नै हो । बिभिन्न साङ्गितिक कार्यक्रममा गाउनका लागि निम्तो आउँछ, म व्यस्त नै हुन्छु । ’

केही वर्षअघि बेल्जियममा एक महिला प्रशंसकले मञ्चमै आएर आफनो गालामा चुम्बन गरेको घटना उनी कहिल्यै भुल्दैनन् । आफूले सामान्यरुपमा लिएपनि कार्यक्रममा सहभागी धेरैले त्यसलाई अन्यथा लिएकाले आफूलाई समेत लामो समय असहज महसुस भएको उनी बताउँछन् । 

भारतीय गायक मोहम्मद रफीका समेत उत्तिकै फ्यान रहेका प्यासीले नेपाल आजसंगको वार्तामा रफीको गीत पनि गाएका छन् । त्यो भिडियोमा हेर्न सकिन्छ । 

प्यासी कुशल संगीतकार पनि हुन् । उनले आधुनिक गीत, गजल तथा थुपैैै्र भजनमा संगीत भरेका छन् । ललिजन रावलको शब्द र देविका प्रधानले गाएको  ‘एउटा परदेशी आइ सोध्यो मेरो नाउँ...’ गजलमा प्यासीकै संगीत रहेको छ । गोपाल योञ्जनले जहिले पनि भेट हुँदा यो गीतको प्रसंग निकालेर प्रशांसा गर्ने गरेको उनी अहिले सम्झन्छन् । 

ADVERTISEMENT