भिडियो Breaking News कभर स्टोरी

नेकपाका सांसद् नै भन्छन्,‘ कम्युनिष्टहरु समाप्तिको दिशामा’  ( भिडियोसहित )

नेकपाका सांसद् नै भन्छन्,‘ कम्युनिष्टहरु समाप्तिको दिशामा’  ( भिडियोसहित )

ठम्मर बिष्ट नेकपा कर्णाली प्रदेशका सांसद हुन् । केन्द्रदेखि स्थानीय तहसम्म आफनै पार्टीको शासन सत्ता भएकाबेला पनि उनी खुशी छैनन् । जनताको नाममा जनतामाथि नै अन्याय अत्याचार हुन थालेको उनको निष्कर्ष छ । यही अवस्था रहने हो भने यो सरकार मात्र होइन नेपालबाट कम्युनिष्टहरु नै बढारिने उनको चिन्ता छ । 

विष्ट भन्छन्, ‘ कर्णाली प्रदेश सरकार असफलतातर्फ छ । सुशासन छैन । नीतिगत भ्रष्टाचार मौलाएको छ । सांसद्हरुले जति कुरा उठाएपनि केही हुँदैन । मन्त्रीहरु मनमौजी छन् । विकासको काम शून्य जस्तै हो । यो अवस्थालाई कसरी राम्रो भन्नु ?’

कर्णाली प्रदेश जस्तै अन्य प्रदेशहरुको अवस्था पनि उस्तै हो । यो सबैको कारण केन्द्र सरकार र सत्तारुढ नेकपा पार्टी हो । पार्टी गुटवन्दीको प्रभाव प्रदेश सरकार पनि परेको छ । केही कुरामा प्रदेश सरकारले हस्तक्षेप गरेको छ भने कतिपय कुरामा प्रदेशले पाउनुपर्ने अधिकार पनि पाएको छैन । 

उदाहरणका लागि प्रदेश ३ को नाम र राजधानी तोक्न पार्टीले निर्देशन दिने हो ? विष्ट आक्रोश पोख्दै भन्छन् ‘ यो गलत कुरा हो । प्रदेश सांसदको अधिकार कुनै पार्टी र नेता विशेषले मिच्न पाउँदैन । यस्तै प्रवृतिको अशर तल्लो तहसम्म परेको छ । ’

खासमा भन्ने हो भने अहिले मुलुकमा संघीयता र गणतन्त्र नै संकटमा परेको छ । मुलुकका दुई प्रमुख नेता नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका गतिविधिका कारण अहिलेको व्यवस्था नै गुम्ने अवस्थामा पुगेको छ । उनीहरुका काम संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई मद्दत पुर्याउने खालका छैनन् । उनीहरुको निजी स्वार्थ पूरा भए होलान् तर जनतामा चरम निराशा र असन्तुष्टि छ । 

अहिले देशभरका जनता सत्तारुढ दल नेकपाप्रति आक्रोशित छन् । यो समग्र कम्युनिष्ट आन्दोलनका लागि घातक कुरा हो । यही अवस्था रहने हो भने नेपालबाट कम्युनिष्ट समाप्त हुन बेर छैन । कम्युनिष्ट विचारधाराका नाममा मुलुकलाई पराधिन बनाउने र आफनो निजी स्वार्थ पूरा गर्ने रोग नेताहरुलाई लागेको छ । 

‘पछिल्लो समय नेपालका प्रायः सबै दलका नेताहरु अमेरिकाबाट त्रसित छन् । अमेरिकाले मार्छ कि भन्ने डरले ‘एमसीसी’ को समर्थन गरिरहेका छन् । ‘एमसीसी’ अमेरिकाको सैन्य रणनीति हो भन्ने जान्दा जान्दै पनि उनीहरु यसको समर्थन गर्न बाध्य छन् । यो विडम्बना हो ।’ विष्टको निष्कर्ष छ । 

ADVERTISEMENT